एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ११ :
सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१, भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदालाई न्याय दिन माग गर्दै जनकपुरधाममा सडक अवरोध गर्दै धर्ना दिइएको छ।
आइतबार जनकपुरधामस्थित जनक चोकमा संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित महिला संघ, धनुषाले प्रदर्शन गर्दै सडक अवरोध गरेका थिए। प्रदर्शनकारीहरूले दलित समुदायमाथि बारम्बार भइरहेको अन्याय र अत्याचारप्रति सरकार मौन रहेको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। साथै, मधेश प्रदेशका मुख्यमन्त्रीले रिंकु सदाको घटनालाई लिएर कुनै चासो नदेखाएको भन्दै रोष व्यक्त गरेका थिए।
धर्नामा सहभागीहरूले मुख्यमन्त्री सिंहले विभिन्न जिल्लाहरूको भ्रमण गरे पनि दलित समुदायको पीडामा संवेदनशील नदेखिएको भन्दै आक्रोश व्यक्त गरे। उनीहरूले मानव अधिकार आयोग, महिला आयोग, र मधेशी आयोगले समेत यस विषयमा ध्यान नदिएको भन्दै आलोचना गरे।
प्रदर्शनकारीहरूले रिंकु सदालाई बलात्कार गर्ने तीनै जना दोषी तथा घटनाको मिलापत्रमा संलग्न पञ्चलगायत सम्पूर्ण अपराधीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग गरेका छन्। अन्यथा, निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका छन्। धर्ना सम्पन्न भएपछि प्रदर्शनकारीहरूले जनकपुरधामका विभिन्न चोकमा सरकारविरोधी नारासहित जुलुस निकाले।
रिंकुकुमारी सदा गत माघ ३० गते बेलुकी ७ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। मृत्यु हुनुअघि उनले गाउँका तीन जना युवाले आफूलाई बलात्कार गरेको जानकारी दिएकी थिइन्। घटनापछि गाउँमा पञ्चायत बस्दै दोषीहरूसँग १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति लिने निर्णय भएको थियो। तर, उक्त निर्णय रिंकु तथा उनको परिवारलाई स्वीकार्य थिएन।


