एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ११ :
मिथिला बिहारी नगरपालिका-८, कचुरीस्थित ऐतिहासिक मिथिला बिहारी मन्दिर प्राङ्गणमा सुविधा सम्पन्न धर्मशालाको निर्माण सम्पन्न भई उद्घाटन गरिएको छ। नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री माननीय रघुवीर महासेठज्यूले उक्त धर्मशालाको उद्घाटन गर्दै साँचो स्थानीय जनसमुदायका प्रतिनिधि तथा वडा अध्यक्ष श्री जीवछ यादवज्यूलाई हस्तान्तरण गर्नुभएको हो।
पूर्व उपप्रधानमन्त्री महासेठज्यूले नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रूपमा कार्यरत रहँदा २०७४ सालमा मिथिला बिहारी मन्दिर क्षेत्रमा सुविधा सम्पन्न धर्मशाला निर्माणको आवश्यकता महसुस गर्नुभएको थियो। स्थानीय जनसमुदायलाई गरिएको प्रतिबद्धता अनुरूप उहाँले योजना अघि बढाई शिलान्यास गर्नुभएको थियो। सोही योजनालाई निरन्तर बजेट विनियोजन गरी पूर्णता दिँदै धर्मशालाको निर्माण सम्पन्न गरिएको हो।
उद्घाटन कार्यक्रममा विभिन्न दलका नेताकार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी नेताहरूले रघुवीर महासेठज्यूको पहल र योगदानका कारण यो ऐतिहासिक धर्मशाला निर्माण सम्भव भएको उल्लेख गर्दै उहाँलाई ‘विकास पुरुष’ को रूपमा सम्मान गरेका थिए।
स्थानीय जनसमुदायले समेत यो धर्मशालाको निर्माणबाट ठूलो राहत मिल्ने विश्वास व्यक्त गर्दै पूर्व उपप्रधानमन्त्री महासेठप्रति आभार प्रकट गरेका छन्।


