एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ७ :
मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले विभिन्न जातिको धर्म, संस्कृति, भेषभूषा तथा भाषा देशको गहना भएको बताउँदै यसको संरक्षण र प्रवर्द्धनमा सरकार पछि हट्न नसक्ने स्पष्ट गर्नुभएको छ।
नेवा: देय् दबू सप्तरी का जिल्ला तथा नगर समितिका नवनिर्वाचित पदाधिकारीहरूको सपथग्रहण कार्यक्रममा मन्त्री लेखीले संविधानले प्रत्याभूत गरेका अधिकारहरू कार्यान्वयन गर्दै तीनै तहका सरकारले सबै जातजातिको पहिचान र संस्कृतिको जगेर्नाका लागि बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो।
मन्त्री लेखीले स्वायत्त प्रदेश, क्षेत्र र इलाका गठन अझै हुन नसकेको र संविधानले ग्यारेन्टी गरेका हकहरू कार्यान्वयन नहुँदा जनताको स्रोतसाधनमा सहज पहुँच पुग्न नसकेको बताउनुभयो। उहाँले विभिन्न कठोर आन्दोलनबाट प्राप्त अधिकारहरूको रक्षा गर्न थप संघर्ष आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रम नेवा: देय् दबू सप्तरीका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।



