एसपी रिपोर्टर
जनकपुरधाम, फाल्गुन २ :
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा स्थानीय तहका न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीहरूका लागि न्याय सम्पादनसम्बन्धी पुनरताजगी कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिका तथा गाउँपालिकाका न्यायिक समितिका पदाधिकारी र कर्मचारीलाई न्याय सम्पादन प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमको अध्यक्षता गर्नु भएका मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री माननीय राजकुमार लेखीले प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य र समन्वय नहुँदा संघीयताको भावनाअनुसार ऐन कानुन कार्यान्वयन गर्न कठिनाइ हुने बताउनुभयो। उहाँले प्रदेश र स्थानीय तहले निर्माण गर्ने कानुनी व्यवस्थाहरू बाझिँदा अन्योलको अवस्था सिर्जना भई सेवाग्राहीले सहज रूपमा सेवा नपाउने समस्या देखिएको उल्लेख गर्नुभयो। त्यसैले प्रदेश सरकार र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको मन्त्री लेखीको भनाइ छ।