एसपी रिपोर्टर
जनकपुरधाम, माघ २९ :
सप्तरीको कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालय (इप्रका) को भवन अत्याधुनिक रूपमा निर्माण हुने भएको छ। ब्रीटिस एम्बेसीको सहयोगमा करिब ३ करोड रुपैयाँ लागतमा सुविधा सम्पन्न भवन निर्माण गरिने मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले जानकारी दिनुभएको छ।
मंगलबार मन्त्रालयको आयोजनामा कञ्चनपुरमा सम्पन्न “मधेश प्रदेशमा विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन सहकार्य सुदृढीकरण” विषयक दुईदिने कार्यशालाको समापन समारोहमा सहभागी मन्त्री लेखीले इलाका प्रहरी कार्यालयको स्थलगत अध्ययन तथा अनुगमन गर्नुभएको थियो।
प्रहरी सेवाको प्रभावकारिता वृद्धि गर्न तथा सेवा व्यवस्थापनलाई थप व्यवस्थित बनाउन उक्त भवन निर्माणको काम चालू आर्थिक वर्ष २०८१/०८२ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको मन्त्री लेखीले बताउनुभयो।