एसपी रिपोर्टर
जनकपुरधाम, माघ २५ :
मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले विकास तथा सौन्दर्यकरणको नाममा किसानविरोधी कार्य गर्न नहुने बताएका छन्।
शुक्रबार सिराहाको लहान नगरपालिका–१० स्थित निर्माणाधीन हेडवर्क्स ड्यामको अनुगमन गर्दै मन्त्री लेखीले करोडौंको लागतमा निर्माण गरिएको सिंचाइ ड्याम किसानको हितमा उपयोग हुनुपर्नेमा जोड दिए। उनले सौन्दर्यकरणको नाममा किसानहरूको सिंचाइ प्रणालीलाई कमजोर बनाउनु निन्दनीय रहेको बताए।
“राज्यको लगानी किसानकै लागि हुनुपर्छ। यसमा कसैले दायाँबायाँ गर्नु हुँदैन,” उनले भने, “सौन्दर्यकरणको नाममा सिंचाइयुक्त नहरलाई ढलमा परिणत गर्ने नगरपालिकाको कदम आपत्तिजनक र घोर निन्दनीय छ।”
नगर प्रमुख महेश चौधरीको निर्णय किसानविरोधी भएको भन्दै मन्त्री लेखीले किसानहरूको आन्दोलन उचित रहेको उल्लेख गरे।
यसअघि, नगरपालिकाले सिंचाइयुक्त नहरलाई ढलमा परिणत गरेको भन्दै स्थानीय किसानहरूले निरन्तर प्रदर्शन गर्दै आएका थिए। किसानहरूको आन्दोलनलाई मध्यनजर गर्दै मन्त्री लेखीले यस विषयमा चासो राखेका हुन्।