एसपी रिपोर्टर
जनकपुरधाम, माघ ११ :
मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले प्रदेश सरकारले बनाएका कानून कार्यान्वयनमा गम्भीर रहेको बताउनुभएको छ।
जनकपुरधाममा मन्त्रालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले कानून कार्यान्वयनमा सरोकारवाला निकायको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो। मन्त्री लेखीले हालसम्म ६४ वटा कानून प्रदेश सभाबाट पारित भएको जानकारी दिँदै आगामी दिनमा कानूनलाई प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोले कानून कार्यान्वयनका लागि सम्बन्धित निकायको सहभागिता महत्त्वपूर्ण भएको र यसको प्रभावकारिता सुनिश्चित गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउनुभयो। प्रदेश सभाका सदस्यहरूले कानून कार्यान्वयनका लागि प्रदेश सरकारसँग आफ्नै प्रहरी र प्रशासन आवश्यक भएको औंल्याए।
उच्च अदालत जनकपुरधामका न्यायाधीश महेन्द्रनाथ उपाध्यायले स्थानीय तहमा कानून कार्यान्वयनको अनुगमनको आवश्यकता रहेको बताउनुभयो। कार्यक्रममा न्यायाधीश, सरकारी वकिल, नेपाल बार एशोसिएशनका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो।