एसपी रिपोर्टर
जनकपुरधाम, पुष २६ :
जनकपुर साहित्य महोत्सवको तयारी स्वरूप एकदिने कथावाचन कार्यशाला भएको छ । नव मिथिला फाउण्डेशनद्वारा माघमा आयोजना हुने जनकपुर साहित्य महोत्सवअन्तर्गत शुक्रबार कथावाचन कार्यशाला भएको हो । यो कार्यशालामा जनकपुरधामका सामुदायिक तथा निजी विद्यालयका शिक्षकहरू सहभागी भएका छन् । उनीहरूले प्रशिक्षण लिएपश्चात् आफ्ना विद्यार्थीहरूलाई कथावाचनका विषयमा प्रशिक्षित गर्नेछन् । कथालय इन का राजीवधर जोशीले शिक्षकहरूलाई प्रशिक्षण दिएका हुन् ।
विद्यार्थीहरूले भने माघ ६ देखि ८ गतेसम्म जनकपुरधाममा हुने कथावाचन प्रतियोगितामा सहभागिता जनाउने छन् । फाउण्डेशनले गर्न लागेको इन्टर स्कूल प्रतियोगितामा कथावाचनका साथै कवितावाचन, चित्रकला र वक्तृत्वकला विधा पनि समावेश गरिएको अध्यक्ष अमित साहले जानकारी दिनुभएको छ ।
इन्टर स्कूल प्रतियोगिताबाट विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरूले माघ २४ देखि २६ गतेसम्म चल्ने जनकपुर साहित्य महोत्सवको छैठौ संस्करणमा सहभागिता जनाउने छन् ।