एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २४ :
विगत २५ वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको आसमान नेपालले विभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाएको छ । मधेसको प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल, प्रतिनिधिसभा सदस्य मुक्ता यादव, प्रदेशसभा सदस्य रामअशिष यादव, जिल्ला समन्वय समिति धनुषाका सभापति राजाराम मण्डल, आसमान नेपालका सयौँ प्रतिनिधिहरुको उपस्थितिमा रजत जयन्ती समारोह मनाइएको हो ।
समारोहमा आसमान नेपालले विगत २५ वर्षमा हाशिल गरेका उपलब्धि, सोको समिक्षाका साथै आगामी ५ वर्ष तथा १० वर्षमा हाशिल गर्नुपर्ने लक्ष्य लगायतको विषयमा विमर्ष गरिएको छ ।
आसमान नेपालका नवल यादवले आगामी दिनमा अझै उर्जाका साथ बालबालिको विकासको क्षेत्रमा काम गर्न उत्प्रेरित गरोस त्यस उद्देश्यका साथ यो समारोह राखिएको बताए । आसमान नेपालले विभिन्न संस्थाहरुको सहयोगमा १० लाख बढी विद्यालय बाहिर रहेका बालबालिकालाई २५ वर्षको अवधीमा विद्यालयमा पुर्याउन सफल भएको जानकारी दिए । यद्यपि अझैपनि कतिपय बालिका अझै विद्यालय बाहिरै रहेकाले अन्य योजना ल्याएर ती बालबालिकालाई समेत विद्यालयमा पुर्याउने गरी काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । त्यस्ते आसमान नेपालको अभियानको माध्यमले कुपोषणबाट पीडित २ लाखबढी बालबालिकालाई पोषित गर्न सफल भएको समेत बताए ।
मधेस प्रदेशमा २० प्रतिशत बालबालिका अझै विद्यालय रहेको, कक्षा ८ पछि ६० प्रतिशत बालबालिका विद्यालय छोड्ने, २० बालबालिका कुपोषित लगायतका समस्या कायमै रहेकाले सरकारी निकायहरुसंग मिलेर आगामी दिन आसमान नेपालले काम गर्ने यादवले जानकारी दिए ।
आसमान नेपालले बालबालिकालाई विद्यालयमा पुर्याउने, कुपोषणबाट मुक्त गराउने, यो क्षेत्रमा अन्य संघ संस्थासंग समन्वय गर्ने, मिडिया इन्गेजमेन्ट बढाउने, जिविकोपार्जनसंग जोडेर योजना ल्याउने लगायतका लक्ष्य सहित विगत २५ वर्षदेखि काम गर्दै आईरहेको छ ।
रामप्रवेश यादवको अध्यक्षतामा सम्पन्न भएको समारोहमा आसमान नेपालका ३ सय बढी भोलिन्टियरहरुको उपस्थिति रहेको थियो भने समारोहमो आसमान के यात्रा नामक नाटक मञ्चन समेत गरिएको थियो ।