एसपी रिपोर्ट
जनकपुरधाम, वैशाख ९ :
युवाको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेमात्र समाजले समृद्धिको मार्ग पहिल्याउन सकिने आवश्यकता एक कार्यक्रममा औँल्याइएको छ । रामजानकी चौगामा सुडी समाज तिनकौरियाको दोस्रो अधिवेशनको उदघाटन सत्रमा वक्ताहरुले सुडी समाजका युवाहरुको सार्थक र समानुपातिक प्रतिनिधित्वबाट मात्रै समाजको विकास सम्भव रहेको वक्ताहरुले बताएका छन् ।
कार्यक्रममा सुडी समाज महासंघ नेपालका अध्यक्ष परमेश्वर महासेठले सुडी समाजका युवाहरुको प्रशासनिक, सुरक्षा, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा पहुँच हुन नसक्नु कमाजोर पक्ष रहेको बताए । उनले महासंघले यही विषयलाई ध्यानमा राखेर त्यस्ता युवाहरुलाई लक्षित गरेर लोकसेवा आयोगको निःशुल्क कक्षा संचालन गर्न लागेको जानकारी दिए ।
’समाजको अग्रगामी रुपान्तरणका लागि युवामैत्री नीति अवलम्बन गर्नुपर्ने र उनीहरुको सहभागिता, परिचालन र नेतृत्व विकास गर्नुपर्ने आजको आवश्यक्ता रहेको उनले भने ।’
रामजानकी चौगामा सुडी समाज तिनकौरियाका अध्यक्ष रामसागर महतोको अध्यक्षतामा भएको अधिवेशनको उदघाटन सत्रमा रामउदगार महासेठ, राजकुमार साह, शत्रुध्न महासेठ लगायतले बोलेका थिए ।
कार्यक्रममा सुडी समाजबाट एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।