एसपी रिपोर्टर
जनकपुरधाम, चैत १० :

जनकपुरधामको मिथिला नाट्य कला परिषदको दुई दिवसिय होरी महोत्सव आइतबारदेखि हुने भएको छ । होरी महोत्सव अन्तर्गत पहिलो दिन आइतबार जोगिरा गायन प्रतियोगिताको आयोजना गरिदै छ भने दोस्रो दिन सोमबार महामुर्ख सम्मेलनको आयोजना गरिने छ ।
होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप हुने अवस्थामा रहेको बेला त्यसलाई संरक्षण गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होरी महोत्सव र महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको छ । मिथिलाञ्चलमा जोगिरा (फागु गीत) सुनिन लगभग छोडिएको बेला मिथिला नाट्य कला परिषद् (मिनाप) यो पुरानो संस्कृतिलाई बचाउन प्रत्येक वर्ष होरी महोत्सव र महामुर्ख सम्मलेनको आयोजना गर्दै आएको मिनापका पूर्व अध्यक्ष सुनिल मल्लिकले बताए ।
जोगिरा गायन प्रतियोगितामा गाउँ गाउँको जोगिरा टोलीलाई बोलाएर प्रतियोगितामा सहभागी गराइने र उत्कृष्ट ३ टोलीलाई पुरस्कृत गरिने उनले बताए । जोगिरा गायन प्रतियोगितामा यस वर्ष मधेसको ८ वटै जिल्लाको गरी कुल १० वटा टोलीको सहभागिता रह्ने मिनापका अध्यक्ष प्रमेश झाले जानकारी दिए ।
त्यस्तै महोत्सवको दोस्रो दिन महामुर्ख सम्मेलन अन्तर्गत मिनापको हास्य शैलीमा व्यङ्गपूर्ण नाट्क प्रस्तुती, हास्य कवि गोष्ठी, मूर्ख एवं महामूर्खको उपाधी वित्तरणसंगै समापन गरिने अध्यक्ष झाले जानकारी दिए ।