एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर ७ :
संयुक्त राष्ट्र संघीय महिला विरुद्ध सबै प्रकारका भेदभाव उन्मुलन गर्ने समिति अन्तर्गत गठित महिला विरुद्ध भेदभाव उन्मूलन गर्ने समिति (सिड) ले नेपाल सरकारलाई नेपाल सरकारलाई बुझाएको प्रतिवेदन उपर निष्कर्ष र सुझाव कार्यान्वयन बारे जनकपुरधाममा एक कार्यक्रम मार्फत छलफल गरिएको छ ।
बेयोण्ड बेजिङ्ग कमिटी मधेश प्रदेशद्वारा जनकपुरधाममा महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धी अन्तर्गतको नेपालको छठौं आवधिक प्रतिवेदन उपर निष्कर्ष टिप्पणी सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा सो प्रतिवेदनको निष्कर्ष र सुझाव कतिको कार्यान्वयन भएको र के कस्ता कुरा अझै समावेश गर्ने बारे छलफल गरिएको हो ।
कार्यक्रममा बेयोण्ड बेजिङ्ग कमिटीका महासचिव सीमा खान र सदस्य रीता साहले सरोकारवालाहरुको सुझाव र सिड कार्यान्वयनमा हासिल भएका नयाँ विकास र प्रगति सम्बन्धी प्रस्तुति गर्नु भएको थियो ।
कार्यक्रममा बेयोण्ड बेजिङ्ग कमिटीका महासचिव सीमा खानले सरकारलाई बुझाएको निष्कर्ष र सुझाव सहितको प्रतिवेदन के कति कार्यान्वयन भएको बारे छलफल भएको जानकारी दिनु भयो ।
यस्तै कमिटिका सदस्य रीता साहले सिडले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा सरकारले के कति कार्य गरेको र कार्यान्वयनमा आउन नसकेको कुराहरु तथा अझ के कुराहरु समावेश गर्न सकिन्छ बारे अन्तरक्रिया कार्यक्रममा छलफलको माध्यमले राय संकलन गरिएको बताउनु भयो ।
कार्यक्रममा सहभागी विभिन्न सरोकारवाला निकायसँग आबद्ध प्रतिनिधिहरुले सिडको बुझाएको प्रतिवेदन कार्यान्वयनमा सरकारी पक्ष कमजोर देखिएको गुनासो गरेका थिए । उहाँहरुले राष्ट्रिय स्तरमा प्रतिवेदन तयार पारिएपनि मधेशमा देखिएका समस्या प्रतिवेदनले समेटन नसकेको बताएका थिए ।