एसपी रिपोर्टर
जनकपुरधाम, असोज ११ :
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेश सरकारले बालविवाह तथा महिला सशक्तीकरणमा गम्भीर रहेको बताएका छन् ।
प्लान इन्टरनेशनल नेपालको राष्ट्रिय रणनीति २०२३–२०२८ सार्वजनिकीकरण कार्यक्रमलाई जनकपुरधाममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकारले बालविवाह रोक्न तथा महिलालाई आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउन “बेटी पढाऊँ बेटी बचाउ” कार्यक्रम अन्तर्गत छोरी शिक्षा बिमा जस्ता कार्यक्रम सञ्चालन गरेको समेत बताए ।
मुख्यमन्त्री यादवले प्लान इन्टरनेशनल नेपाल जस्ता संस्थाले बनाएको रणनीतिको सफल कार्यान्वयनका लागि प्रदेश सरकार सघाउन तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले प्लान इन्टरनेशन नेपालले मधेश प्रदेशका जिल्लामा विगतदेखि गर्दै आएको कामको सराहना गर्दै अगामी दिनमा अझ बढी सशक्त ढंगले काम गर्ने विश्वास व्यक्त गरे ।
मधेश प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेश प्रसाद यादवले मधेश प्रदेशमा बालविवाहको अवस्था निकै भयावह रहेको बताउँदै यसमा कमी ल्याउनका लागि प्रदेश सरकारले बालिका शिक्षामा विशेष जोड दिएको बताए ।
अहिले मुलुकमा बालविवाह गर्नेको संख्या ३३ प्रतिशत रहेको प्लान इन्टरनेशनलको तथ्यांक छ ।
प्लान इन्टरनेशनलका क्षेत्रीय कोर्डिनेटर रविशंकर पन्तले प्लान इन्टरनेशनल तीन वटै तहको सरकार संग हातेमालो गरेर पंछ वर्षिय योजना अन्तरगत कार्य गर्न प्रतिबद्ध रहेको बताए । उनले सामजिक विकास, सुशासन, आर्थिक विकास, शिक्षा लगायतको क्षेत्रमा संघ, प्रदेश र स्थानिय सरकारसंग समन्वय गर्न तयार रहेको बताए ।