एसपी रिपोर्टर
जनकपुरधाम, असोज ५ :
जनकपुरधामको महावीर युवा कमिटीले गौ हत्या गर्नेलाई मानव हत्या सरहको सजायको व्यवस्था गर्न माग गरेको छ । नेपालको राष्ट्रिय जनावर समेत रहेको गाईको हत्या गर्नेलाई जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै मानव हत्या सरह सजायको व्यवस्था गर्न कमिटीले माग गरेको हो ।
कमिटीका अध्यक्ष अजय गुप्ताको अगुवाईमा ज्ञापन पत्र बुझाउन पुगेका कमिटीका पदाधिकारीहरुले गौ हत्या गरेर जानाजान हिन्दुहरुको आस्थासंग खेलवाड गर्न खोजिएकाले त्यस्ता व्यक्ति वा समूहलाई कानूनी दायरामा ल्याई कारवाही गर्न माग गरेको हो ।
ज्ञापन पत्रमा भनिएको छ ‘ नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रहेको मुलुकमा बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त समाजलाई सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी दिगो शान्ति, सुव्यवस्था विकासको आकांक्षा पुरा गर्ने लक्ष्य राखी नेपालको संविधान जारी गरिएको छ, जसमा धारा ९(३) ले राष्ट्रिय जनावर गाई हुन भनी व्यवस्था छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २८९ ले गाई मार्न पुर्णतः निषेध गरी सो लाई अपराध मानिएको छ ।’
नेपालको संविधानले प्रत्येक नागरिकको हकमा संवैधानिक मौलिक हक मार्फत संरक्षण प्रदान गरेको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्न पाउने अधिकार उपर अतिक्रमण गरी सुनियोजित रुपमा गाईको हत्या गर्ने कार्य भई रहेकोबाट ८०% भन्दा बढी रहेको सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुको धार्मिक भावनामा आहत पुर्याउने कार्य भईरहेपनि कुनै कारबाही नगरिएकोमा कमिटीले आपति जनाएको छ ।