एसपी रिपोर्टर
सिरहा, पुष २६ : मधेश प्रदेशका मन्त्री एवं जनमत पार्टीका उपाध्यक्ष ईन्जिनियर बशन्त कुशवाहाले मधेश आन्दोलनका शहीद परिवारहरूसँग भेटघाट गरेका छन् । मधेश आन्दोलनका क्रममा सिरहा जिल्लाको लहानमा शहीद भएको रमेश महतोको आमाबाबुसँगै उनका परिवारका सदस्यहरुलाई मन्त्री कुशवाहाले भेटेका छन् ।

शहिद महतोको सहादत बाटै मधेश आन्दोलन प्रारम्भ भएकाले उहाँलाई मधेश अन्दोलनको प्रथम शहिद समेत भनिन्छ । यसैगरी, शहीद प्रमोद सादा र बिजय सहनीको परिवारलाई पनि मन्त्री कुशवाहाले भेटेर परिवारको अवस्थाको जानकारी लिनुका साथै शहिद परिवारलाई सम्मान समेत गरेका छन् ।
सोही क्रममा मन्त्री कुशवाहाले लाहान स्थित शहिद पार्कमा पुगेर शहिदहरुको शालिकमा माल्यार्पण गरेका छन् । शहिद परिवारहरुसँगको भेटमा मन्त्री कुशवाहाले मधेश सरकारले शहिद परिवारको समस्या समाधानमा सहयोगी भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शहिदको सहादतले मधेश, संघियता सहितका उपलब्धीहरु प्राप्त भएको कुरा आफुहरु कुनै पनि अवस्थामा बिर्सन नसक्ने मन्त्री कुशवाहाको भनाई थियो ।