एसपी रिपोर्टर
जनकपुरधाम, चैत १८ :
महिला मानव अधिकार रक्षक सञ्जाल ओरेकले ३१ औं वार्षिकोत्सक मनाएको छ । यस अवसरमा ओरेकले जनकपुरधाममा पनि कार्यक्रम गरेको छ । शुक्रबार धनुषा ओरेकले विगतदेखि वर्तमानसम्मका कार्यक्रम र अभियानहरूका क्रममा गरेका कार्यहरूको प्रदर्शनी गरेको हो ।

प्रदर्शनीमा महिला हिंसासहितका विविध घटनाक्रम समेटिएका चित्रहरूसहितको प्रस्तुत गरिएको थियो । कार्यक्रममा ओरेक धनुषाकी अध्यक्ष राजलिन बछारले महिला हिंसाका घटनामा कमी हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले हिंसाका नयाँ प्रकृतिका घटनाहरू पनि आउन थालेको बताउनुभयो ।

ओरेक धनुषाले पीडित महिलाहरूका लागि सुरक्षित आवासको सेवा पनि दिँदै आएको समेत जानकारी दिएको छ । सन् २०२१ मा ८८ जनाले सेवा लिएको पनि ओरेकले बताएको छ । कार्यक्रममा सन् २०२१ मा भएको लैंगिक हिंसाका घटनाका तथ्यांक पनि प्रस्तुत गरिएको थियो ।

जसअनुसार धनुषामा २०२१ को जनबरीदेखि डिसेम्बरसम्ममा लैंगिक हिंसाका २१९ घटना भएका छन् । जसमध्ये २१७ महिलामाथि हिंसा छन् भने २ पुरुषमाथिको हिंसा रहेका छन् । ८७ वटा घरेलु हिंसाका घटना, १४ बलात्कार, ३ सामुहिक बलात्कार, ३ बलात्कार प्रयास, ११ यौन दुरव्यवहार, ३३ प्रेममा विश्वासघात, ५५ सामाजिक हिंसा, ९ मानव वेचबिखनलगायतका घटना धनुषामा भएका छन् ।