एसपी रिपोर्टर
जनकपुरधाम, चैत १८ : निवर्तमान उपप्रधान तथा परराष्ट्रमन्त्री रघुविर महासेठले जुनसुकै पार्टीमा रहेपनि समाजको सेवा गर्नुपर्ने चरित्र नेतामा हुनुपर्ने बताएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्थामा श्री सुडी समाजले आयोजना गरेको कार्यक्रममा एमाले सचिव समेत रहेका नेता महासेठले कुनै पनि राजनितिक दलमा रहेर राजनिति गरेपनि समाजको सुधारमा लाग्नु पर्ने काम सवै नेताको कर्तव्य रहेको बताए ।

कार्यक्रममा एमाले नेतृ जुली महतोले जनताको अभिमत कसैलाई रहेपनि जनताको अभिमतलाई लत्याउदै अदालतबाट अहिलेको सरकार बनाइएको बताउदै एमालेको सरकारले किनेको रेल चलाउन विभिन्न जालझेल गरेको र अहिले आएर चुनावको अगाडि रेल चलाउन खोजिएको बताइन ।

कार्यक्रममा एमाले नेता तथा जनकपुरधाम उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष शिव शंकर साह हिराले समाजलाई सुरक्षा दिन सक्ने नेता छान्न र उसैलाई सहयोग गर्न सुडी समाजलाई आग्रह गरेका छन् । कार्यक्रममा नरेश महासेठको अध्यक्षतामा गठन भएको २१ सदस्सीय श्री सुडी समाज कुर्थाको कार्यसमितिलाई प्रमाण पत्र वितरण गरिएको थियो । समितिको उपाध्यक्षमा सुरेन्द्र नायक, महासचिवमा विरेन्द्र नायक, सचिवमा श्याम सुन्दर महासेठ र कोषाध्यक्ष विष्णु दयाल महतो चयन भएका छन् ।


