एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ : विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड १९ को संक्रमणको डरले अहिले विश्व नै आक्रान्त छ । नेपाल सरकारले पनि आज (मंगलबार) बिहान ६ बजेदेखि एक सप्ताह दिन सम्म्का लागि पुरा देशलाई लकडाउन गरेको छ । एता तिनै तहको सरकार आ–आफनो हिसावले जनतालाई यस महामारी विरुद्व सचेतना अपनाउन पहल गरिरहेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका लक डाउनको पहिलो दिन सुनसान रहेको अवस्थामा जनकपुरधामको जानकी चोक र जनकचोकमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दिपेन्द्र साहले पैदलयात्रीहरुलाई मास्क दिदै सचेत र सुरक्षित रहन आग्रह गर्दै थिए ।

उनले केहि अपठेरा सहेर पनि नेपाल सरकारको सवै प्रयासमा साथ दिनुको विकल्प नरहेको भन्दै स्थानियलाई सम्झाउदै थिए । वडा अध्यक्ष साहले व्यक्तिहरु कोरोनाको बारेमा अहिले पनि अनभिज्ञ रहेकाले वडाको घर घरमा पुगेर मास्क दिदै सम्झाउने बुझाउने काम गरेको बतए । उनले आफ्नो वडाका दलित बस्तीका ४ सय जनालाई घर घरमा गएर मास्क वितरण गरेका छन् । आफ्नो वडाको जनसंख्या २३ सय रहेको र भोलीदेखि आगामी एक हप्ताभित्र सबैको घरसम्म पुगेर एक व्यक्ति, एक मास्क वितरण गर्ने आफ्नो योजना रहेको उनले बताए । उनी एक्लै घर घर पुग्दै छन ।