विजय साह
जनकपुरधाम, चैत ७ : प्रदेश २ ट्राफिक प्रहरीले पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना न्यूनिकरण गर्न समय सीमा (टाइम कार्ड) लागु गरेको छ । शुक्रबार धनुषाको लालढस्थित रिफ्रेस सेन्टरमा एक कार्यक्रमको आयोजना गरी ट्राफिक प्रहरीले टाइम कार्ड लागु गरेका हुन । ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक परशुराम घिमिरेले पहिलो सवारी चालकलाई दोसल्ला तथा अविर मालाले सम्मान गर्दै टाइम कार्ड तथा प्रदेश २ चालक लेखिएको ज्याकेट वितरण गरेर कार्यक्रमको उदघाटन गरेका थिए । टाइम कार्ड लागु भएपछि पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीका चालकले पूर्वको भारदह, शम्भुनाथ, लहान, बन्दीपुर, लालगढ, कर्मैया, निजगढ र पथलैया ट्राफिक बीटमा इन्ट्रि गर्नुपर्ने छ भने बर्दिबास हुँदै विपि राजमार्ग भएर जाने सवारीले सोही ठाउँको टाइम कार्ड प्रयोग गर्नुपर्ने पनि घिमिरेले जनाए । प्रहरी निरिक्षक घिमिरेले चालकलाई सहजै चिन्न सकिने अंकित भएको पहिरन लगाउन, गाडीभित्रै डस्टबिन राख्न र अग्नी नियन्त्रण राख्न चालकहरुलाई सुझाव समेत दिएका थिए । अहिले विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्न् तथा स्वास्थ्य सुरक्षाप्रति सजगताका लागि प्रत्येक ट्राफिक बिटमा ह्याण्ड वासले हात धुने व्यवस्था समेत गरेको प्रहरी निरिक्षक घिमिरे बताए ।