एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १० : धनुषाको हालको क्षेत्र नं. २ मा स्थानिय स्तरमै आँखा उपचार उपलब्ध हुने भएको छ । क्षेत्रको शहिद नगरपालिका ३ यदुकोहमा नेपाल रेडक्रस सोसाइटी बृजलाल सुमिन्त्रा सामुदायिक आँखा उपचार केन्द्र यदुकुहाको आँखा शल्यक्रिया कक्षको शिलान्यास गरिएपछि स्थानियवासी राहत महशुस गरेका छन् ।
क्षेत्रका सांसद उमा शंकर अरगरियाले आफ्नो संसदीय कोषबाट १० लाख रकम विनियोजन गरि कक्षको भवन निर्माणको शिलान्यास गरेका छन् । सांसद उमाशंकर अरगरिया, नेपाल रेडक्रस सोसाइटी जानकी आँखा अस्पताल जनकपुरधामका अध्यक्ष गंगाराम यादव र शहिद नगरपालिकाका मेयर उदय कुमार बरबरियाले एक कार्यक्रम विच संयुक्त रुपमा सो शिलान्यास गरे ।

शहिद नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नागेन्द्र मण्डलले अध्यक्षता गरेको उक्त शिलान्यास कार्यक्रममा शहिद नगरपालिका उपमेयर शिला देवि मण्डल, जानकी आँखा अस्पताल जनकपुरधामका कोषाध्यक्ष संजय यादव, विभिन्न वडाका वडाध्यक्ष, समाजसेवी, बुद्धिजीवी, स्थानीयबासीको उपस्थिति थियो ।
एता सोहि क्षेत्रका स्थानियलाई लक्षित गरि निशुल्क आँखा उपचार तथा शाल्यक्रियाको सुविधाका लागि धनुषाको टिल्हीमा निशुल्क आँखा शिविरको समेत आयोजना गरिएको छ । प्रदेश सांसद रामअशिष यादव, समाजसेवी एवं नेपाल रेडक्रस सोसाइटी श्री जानकी आँखा अस्पताल जनकपुरधामका सभापति गंगाराम यादव सहितकाले सो निःशुल्क शिविरको उदघाटन गरेका छन् ।
समाजसेवी यादवको संयोजनमा भएको कार्यक्रममा हँसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल, विदेह नगरपालिकाका प्रमुख बेचन दास, जसपा जिल्ला अध्यक्ष पशुपति यादव सहितका वक्ताहरुले शिविरको महत्व माथी प्रकाश पारेका थिए । हँसपुर नगरपालिकाको टिल्ही स्थित श्री तपसीबाबा उच्च माध्यमिक विद्यालयमा आयोजन भएको शिविरमा भेटिने मोतिबिन्दुका रोगीलाई जानकी आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया उपलब्ध गराइने आयोजकले जनाएको छ । शिविर समुदघाटन अघि विद्यालयको प्राङ्गणमा वृक्षारोपन गरिएको थियो ।