एसपी रिपोर्टर
जनकपुरधाम, माघ १७ :
जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख लाल किशोर साहले समाज मात्र नभई शिक्षा क्षेत्रलाई समेत सफासुघर बनाउन आवयश्क रहेको बताएका छन् । जनकपुरधाममा मदर्सा अल जामेआतुस सलामियाले आयोजना गरेको ‘कोरोना भाइरस एक तारुफ’ पुस्तक विमोचन कार्यक्रममा प्रमुख साहले हरेक धर्म संस्कृतीको सम्मान र महत्व सहित औपचारिक शिक्षा आवयश्कतामा जोड दिएका छन् ।

सो मदर्सामा अध्ययनरत्त छात्रछात्राहरुको शिक्षा आर्जनको तौरतरिकाको प्रसंसा गर्दै उनले अन्य ठाउँका विद्यालयहरुमा समेत शिक्षा आर्जनको सो तरिकाको अवलम्वन गर्नुपर्ने बताएका थिए । सो मदर्सामा सरकारी सुविधाहरु अगामी आर्थिक वर्षबाट समानुपातिक रुपमा प्रदान गरिने घोषणा समेत उनले गरेका थिए । मदर्सा पुगेका मेयर साह कक्षा ५ सम्म पठन पाठन हुने सो मदर्साको बालबालिकाको अनुशासन र तरिकाबाट प्रभावित भएर सो घोषणा गरेका हुन ।

बालबालिकाहरुको आचरण, संस्कार र शिक्षाको आर्जन तथा स्तर उच्च रहेको पाइएको थियो । भौतिक संरचना समान्य भएपनि मदर्साको अध्ययन अध्यापनको तरिका सम्मानजनक रहेको मेयर साहको भनाई थियो । उनले भने–‘न कुनै अपेक्षा न कुनै आग्रह समान्य रुपमा मलाई यहाँ बोलाउनु भएकोमा मदार्सा कमिटीलाई धेरै धेरै धन्यवाद ।’

अन्य ठाउँमा जाँदा इच्छा र अपेक्षाको घेरामा हुन्छ तर बिना अपेक्षा यहाँ आएपनि यस मदर्साको वातावरणका कारण आफु प्रभावित भएको भन्दै मदर्साको गुणस्तरीयताका लागि आफु तत्पर रहने उनले बताए । उनले मदर्सा सञ्चालक समितिका सदस्यहरुलाई मदर्सामा गुणस्तरीय शिक्षाका लागि सम्वाद गर्नका लागि आग्रह गरेका थिए । सम्वादबाट सार्थक नतिजा निष्कने भएका कारणले सम्वाद कहिल्यै पनि नतोडन समेत उनले आग्रह गरेका थिए ।