एसपी रिपोर्टर
जनकपुरधाम, माघ १४ : जनकपुरधाम उपमहानगर पालिकाका मेयर लालकिशोर साहले निजी विद्यालय निषेध गरी बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराउन अपिल गरेका छन् । उनले भने– ‘सामुदायिक विद्यालयले पनि गुणस्तरीय विद्यार्थी उत्पादन गर्न सक्छ भने पैसा तिरेर निजी विद्यालयमा किन पढाउने ?’
युनिसेफको सहयोग तथा जनकपुरधाम उपमहानगरपालिका र पिपुल प्रमोट सेन्टर नामक गैर सरकारी संस्थाले संचालन गरेको सरसफाई सम्बन्धी आयोजनाको स्थलगत निरीक्षण तथा हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै उनले सामुदायिक विद्यालयहरुमा लोकसेवा पास गरेर आएका योग्य शिक्षक रहेको बताएका छन् । भौतिक संरचनाको अभाव छैन अनि किन निजीमा पढाउने ? उनको प्रश्न थियो ।

जनकपुरधाम–१८ महुवास्थित शंकर आधारभूत विद्यालय र वडा नं. २४ बसहिया स्थित स्वास्थ्य चौकीमा संचालित ‘संस्थागत खानेपानी, सरसफाई तथा स्वच्छता’ कार्यक्रम अन्तर्गत नवनिर्मित संरचनाहरुको हस्तान्तरण कार्यक्रममा सहभागी भएका मेयर साहले दुःख गरेर कमाएको पैसा, महंगा निजी विद्यालय र अस्पतालमा खर्च गर्नु परेको बताए ।

युनिसेफको आर्थिक सहयोगमा पीपीसी नामक संस्थाले धनुषा र महोत्तरीमा ‘संस्थागत खानेपानी, सरसफाई तथा स्वक्षता’ कार्यक्रम संचालन गरेको छ । यस अन्तर्गत धनुषा महोत्तरीका १२ पालिकाका २४ विद्यालय र ७ स्वास्थ्य चौकीमा सुविधा सम्पन्न शौचालय, खानेपानी, फोहर व्यवस्थापन लगायतका संरचना निर्माण हुदैछ ।
कार्यक्रममा मेयर साहका अतिरिक्त युनिसेफमा सम्बद्ध कार्यक्रम प्रमुख बोधनारायण श्रेष्ठ र अन्नपूर्णा मिश्र, पिपुल प्रमोट सेन्टरका अध्यक्ष कमलेश मण्डलसंगै सम्बन्धित वडाका वडाध्यक्ष, जनप्रतिनिधी, अभिभावक, विद्यार्थी तथा सेवाग्राहीहरुको पनि उपस्थिती थियो ।





