एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३ : सेफ नेपाल धनुषाको तेस्रो साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न संस्थाको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनमा नीति तथा कार्यक्रम एवं आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ । संस्थाका अध्यक्ष रामप्रमेश मण्डलको अध्यक्षता तथा राष्ट्रिय मानवअधिकार आयोग प्रादेशिक कार्यालय जनकपुरका प्रमुख वीरबहादुर बुढा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न शनिबार भएको साधारण सभामा नीति तथा कार्यक्रम एवं आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको हो ।

साधारण सभामा संस्थाका अध्यक्ष मण्डलले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरे । आर्थिक प्रतिवेदनमा २७ लाख १३ हजारको बजेट प्रस्तुत गरिएकोमा हालसम्म १९ लाख ३९ हजार ३ सय खर्च भएको छ भने ७ लाख ७३ हजार ७ सय संस्थाको खातामा बाँकी रहेको प्रस्तुत गरियो । संस्थाको कुल साधारण सदस्यहरुमा ४१ प्रतिशत महिला तथा ५९ प्रतिशत पुरुष लैङ्गिक सहभागिता रहेका छन् । त्यस्तै जातजातिको आधारमा संस्थाका कुल सदस्यहरुमा मधेश तथा अन्य ५३ प्रतिशत, दलित ३८ प्रतिशत, जनजाति ३ प्रतिशत, मुस्लिम ६ प्रतिशत साधारण सदस्यहरु रहेका छन् ।
अध्यक्ष मण्डलले पेश गरेको आर्थिक तथा प्रगति प्रतिवेदन साधारण सभाले पारित ग¥यो । साधारण सभा तथा अधिवेशनको बन्द सत्रले नयाँ कार्यसमिति चयन गरेको छ । रामप्रमेश मण्डलको अध्यक्षमा नयाँ चयन भएको कार्यसमितिको उपाध्यक्षमा रोजलिन सिंह बछार, सचिवमा सविता साह, सहसचिवमा महेशलाल यादव, कोषाध्यक्षमा राम एकवाल महरा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सीमा कुमारी साह, अम्बिका विश्वकर्मा, रामप्रगास साह तथा प्रदिप यादवलाई चयन गरिएको छ ।

साधारणको सभाको उद्घाटन सत्रमा प्रमुख अतिथि वीरबहादुर बुढा मगरले मानवअधिकार मुखी अवधारणाबाट हरेक काम हुन नसके सम्म समृद्ध समाज वा मुलुक निर्माण हुन कठिनाई रहेको बताए । अधिवक्ता राजकुमार महासेठले सामाजिक विकृति न्यूनिकरणका लागि सरकार, गैरसरकारी संस्था तथा नागरिक समाजहरुले नियमित रुपमा काम गरिरहे पनि सामाजमा वर्षौदेखि जडा गाडिएको कुप्रथाका कारण यसको अन्त्यका लागि थप सशक्त ढंगले अभियान संचालन गर्नुपर्ने सुझाव दिए । पत्रकार कैलाश दासले सेफ नेपालले राम्रो कामहरु गरिरहेको र यसको लोगोले नै धेरै सन्देश दिईरहेको बताए । उनले सेफ नेपालको आगामी कार्यक्रमहरुलाई सञ्चार क्षेत्रले निःस्वार्थ ढङ्गले सहयोग गर्न तयार बताए ।
जिल्ला युवा संजाल धनुषाका अध्यक्ष धिरज साहले सामाजिक विकृतिहरु अन्त्यका लागि सेफ नेपालको अभियानमा युवा संजालले सहकार्य गर्न तयार रहेको बताए । त्यस्तै बाल अधिकारकर्मी आशुतोष झाले सेफ नेपालले बाल अधिकारको क्षेत्रमा राम्रो काम गरिरहेको आफूले जानकारी पाएकोले आफूहरु सहकार्य गर्न तयार रहेको बताए । त्यस्तै कार्यक्रममा संस्थाका सदस्य अम्बिका विश्कर्माले समेत शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन संस्थाका टिम लिडर बिनोद महराले गरेका थिए भने स्वागत मन्तव्य संस्थाकी कोषाध्यक्ष राजलिन सिंह बछारले गरेकी थिइन ।





