कल्पना यादव
फाल्गुन २५ गते ।
जनकपुरधाम : प्रत्येक वर्ष मनाइने होरी महोत्सव तथा महामुर्ख सम्मेलन जनकपुरधाममा सुरु भएको छ । मिथिला नाटय कला परिषद जनकपुरधामको आयोजनमा प्रत्येक वर्ष झै यस वर्ष पनि जानकी मन्दिर प्राङ्गणमा विभिन्न जिल्लाका हौरैया समुहको सहभागितामा आइतवार होरी महोत्सवको आयोजना गरिएको छ भने सोमवार महामुर्ख सम्मेलनको आयोजना गरिने छ ।
होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप हुने अवस्थामा रहेको बेलामा त्यसको संरक्षण गर्न जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले प्रत्येक वर्ष होरी महोत्सव र महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।
आइतवार आयोेजित होरी महोत्सवको समुदघाटन गर्दै प्रदेशका भौतीक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले होरीमा विकृती प्रवेश गरिरहेकाले रोक्नु पर्ने बताए । विकृती फैलने समाजको अस्तित्व संकटमा पर्ने गरेको दावी गर्दै मन्त्री सोनलले सचेत हुन आग्रह गरेका छन् । कोरोना भाइरसको प्रभावलाई मध्येनजर गर्दै यस वर्षको सम्मेलनमा रंग अविर दल्ने कार्यक्रम स्थगित गरिएको छ । सम्मेलनमा यस वर्ष मास्क वितरण गरिनुका साथै रंग र अविर दल्नुको सट्टा फुल छर्केर मनाइने भएको छ । होरी महोत्सव र महामुर्ख सम्मेलनमा कोरोना सर्तकता अपनाइएको छ ।
होरी महोत्सवमा धनुषाको गिद्दाबेलापट्टी, जमुनीवास, लोहना, वेला, महोतरीको विसम्वरपुर र सप्तरीको समेत एक गरि कुल छ होरैया टिमको सहभागिता रहेको छ । उनीहरुले आ–आफनो क्षेत्रको मौलिक होरैया प्रस्तुत गरेका छन् ।
विजेता टिमलाई पुरस्कार र सम्मान प्रदान गरिने छ । सोमवार हुने यस वर्षको महामुर्खको उपाधिले सम्मानित हुने सम्भावित सुचीमा कांग्रेस उपसभापति विमलेन्द्र निधी, डा. बाबुराम भट्टराई, लालबाबु राउत सहितको रहेपनि निधिको सम्भावना प्रवल छ ।