एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १७ :
प्रदेश २ का आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले परिवारमै पनि भेदभाव रहेकाले महिला हिंसा न्युनिकरण हुन नसकेको बताएका छन् । ओरेक नेपाल धनुषाद्वारा जनकपुरधाममा आयोजित महिला हिंसाको अवस्था तथा न्यायमा पहुँचको पहुँचको लागि न्यायिक समितिको भुमिका विषयक संवाद कार्यक्रममा बोल्दै मन्त्री यादवले अहिलेको परिस्थितिमा परिवार भित्रै पनि छोरा र छोरीलाई समान किशिमको व्यवहार तथा अंश र सम्पतीमा समेत विभेद रहेकाले दाइजो प्रथा मौलाएको बताए ।

मन्त्री यादवले भने, ‘छोरा छोरीमा विभेद, छोरी बुहारीमा विभेद यो कहाँ हुन्छ हाम्रै घरमा हुन्छ नी ? अनि हामी मुखदर्शक कसरी ? अनि यस किशिमले महिला हिंसा न्युनिकरण कसरी हुन्छ ? ।’ छोरा छोरीलाई समान अंश र सम्पतीको लायक सम्झिए दाइजो आफै अन्त्य हुने उनको कथन थियो ।

उनले प्रदेश सरकारले महिला लक्षित शसक्तिकरण कार्यक्रमको विधेयक पारित गरिएको तथा अहिलेको अवस्थामा महिलाहरुको स्तरोन्तीका लागि सवै तहमा महिलालाई ५० प्रतिशत सहभागीताको ग्यारेन्टी गरिएको बताए । उनले प्रदेश स्तरमै सेफ हाउस तथा उठेका प्रश्नको उत्तरमा स्थानिय तहका न्यायिक समितिका अध्यक्षलाई ८ दिने तालिमको पनि व्यवस्था प्रदेश सरकारले नै गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । कार्यक्रममा ओरेक नेपाल धनुषाकी रोजलिन बछार, धनुषाको मुखियापट्टी मुसरनिया र गणेशमान चारनाथ नगरपालिकाकी उपप्रमुख सहितको उपस्थिती रहेको थियो ।