एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ९ : क्लोथ बैंक धनुषाले थप १० वटा अक्सिज सिलिन्डर जिल्ला प्रशासन कार्यालय धनुषालाई हस्तान्तरण गरेको छ । काठमाण्डौंकोे किर्तीपुर–१ स्थित स्टेप टु इलिमिनेट पोर्भटी नामक संस्थाले सानो साइजको सो १० थान अक्सिजन सिलिन्डर बैंकको अभियानलाई सहयोग गरेको हो । लुगा आवयश्कता भएका गरिव विपन्नहरुका लागि लुगाको व्यवस्था गर्दै आएको बैंकले कोभिड १९ महामारीका बेला अस्पतालमा बेडको अभावमा होम आइशोलेसनमा रहेकाहरुलाई निःशुल्क चिकित्सकीय परामर्श र आवयश्क रहेकालाई निःशुल्क अक्सिजन सिलिन्डरको समेत व्यवस्था गर्न थालिएको अभियान अन्तर्गत बैंकले आज थप १० गरि अहिले सम्म कुल २२ अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकेको छ ।
त्यस संस्थाका प्रतिनिधी तथा अभियानको अक्सिजन व्यवस्थापन समितिका सदस्य सचिव तथा बैंकका समेत सचिव रहेका मनिष श्री ओमको पहलमा सो सिलिन्डर सहयोग वापत प्राप्त भएको छ । पोर्भटी संस्थाका अध्यक्ष डा. शैलेन्द्र झा अभियानको चिकित्सक टोलीका सदस्य समेत हुन । उनले सहयोग गरेको एकलाख रुपैयावाट ई सिलिन्डरहरु खरिद गरिएको छ ।

चिकित्सको निगरानी र परामर्शमा रहेका संक्रमितलाई चिकित्सककै सिफारिसमा जिल्ला प्रशासन कार्यालय धनुषाले सो अक्सिजन सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस्मा जिल्ला प्रहरी प्रमुखको समेत स्वामित्व रहेको छ । यस अघि बैंकले पहिलो चरणमा १२ अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको थियो । बैंकका अध्यक्ष राजिव झाका अनुसार अहिले सम्म दाताहरुवाट कुल ६० वटा सिलिन्डरको प्रतिवद्वता आइसकेकोमा २२ वटा प्राप्त भइसकेको छ ।

धनुषावाट सुरु भएको अभियानमा प्रदेश २ का आठवटै जिल्लाका संक्रमितहरु जुडन थालेका छन् । अभियानको सुचनाहरु हेरेपछि अहिले सम्म पर्साका १८, सर्लाहीका ४, महोतरीका २, सिरहाका २ र सप्तरीका २ जना संक्रमित चिकित्सकहरुको सम्पर्कमा रहि परामर्श लिइरहेका छन् । त्यसै गरि धनुषाका कुल ३० जना संक्रमितहरु परार्मश लिइरहेको समेत बताइएको छ ।