एसपी रिपोर्टर

जनकपुरधाम, असोज १ : जनमत पार्टीको आगामी वीरगञ्जमा हुन लागेको केन्द्रीय महाधिवेशनमा धनुषाका सन्तोष राज सहनीले केन्द्रीय सचिव पदमा उम्मेदवारीको घोषणा गरेका छन् । सहनी नेपाल र भारतमा परिचित एक गायक, लेखक र संगीतकार पनि हुन् । सांस्कृतिक जनमत संघको केन्द्रीय संयोजक समेत रहेका सहनी २०८० सालमा पार्टीको सदस्यता हासिल गरेका हुन् ।

नेपालका धेरै खास गरी मधेशका नेताहरूसँग राम्रो सम्बन्ध बनाएका सहनी जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य समेत हुन् । आगामी असोज १० गते वीरगञ्जमा हुने जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनमा सहनीले केन्द्रीय सचिव पदका लागि आज मनोनयन गराउने जानकारी दिएका छन् ।

पार्टीको आन्तरिक तयारी र नेताहरूसँगको छलफलपछि उनले सचिव पदमा उम्मेदवारी दिने मनस्थिति बनाएको बताइएको छ । पार्टीमा हरेक प्रदेशबाट एक/एकजना सचिव रहने व्यवस्था छ । पार्टी अध्यक्ष डा. सीके राउतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनलाई सांस्कृतिक जनमत संघको केन्द्रीय संयोजकको जिम्मेवारी प्रदान गरिएको थियो।

सांस्कृतिक गतिविधिमार्फत पार्टीको विचार, नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले गठन गरिएको संघको नेतृत्व गर्दै सहनीले सांस्कृतिक क्षेत्रसँगै राजनीतिक गतिविधिमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। राजनीतिसँगै सहनी भोजपुरी संगीत क्षेत्रमा पनि परिचित छन्। उनी भोजपुरी संगीतकार, गीतकार तथा गायक समेत हुन्।

सहनीले पार्टीमा युवाहरूको साथ र व्यापक समर्थन रहेकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्। पार्टीभित्र आफ्नो बलियो पकड रहेको उल्लेख गर्दै उनले सचिव पदको निर्वाचनमा आफू विजयी हुनेमा ढुक्क रहेको बताएका छन्। जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन असोज १० गते हुने तय भएको छ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व तथा केन्द्रीय कार्यसमिति चयन गर्नेछ।