एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २४ : नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ मधेस प्रदेशको कार्यवाहक अध्यक्षमा जनकपुरधामका युवा अगुवा राजु कुमार साह चयन भएका छन्।
मधेस प्रदेशको सर्लाहीको लालबन्दीमा आज भएको बृहत भेलाबाट साहलाई कार्यवाहक अध्यक्षको रूपमा चयन गरिएको छ। महासङ्घको वर्तमान अध्यक्ष राकेश शाह घरायसी काममा व्यस्त हुने भएकोले मधेस प्रदेशको राजधानी जनकपुरधाममा सक्रिय समेत रहेका साहलाई तत्काल सो जिम्मेवारी दिइएको बैठकबाट सर्वसम्मत निर्णय गरिएको छ।

साहलाई प्रदेश सरकार र स्थानीय सरकार तथा तिनका सम्बन्धित निकायहरू सँग समन्वय गर्न र सहकार्य गरेर महासङ्घको हितका लागि विभिन्न योजना तथा कार्यक्रमहरू ल्याउन जिम्मेवारी तोकिएको छ।
महासङ्घलाई थप सक्रिय र प्रभावकारी भूमिकामा ल्याउन जिम्मेवारी हेरफेरको निर्णय गरिएको सभामा सहभागी महासङ्घका पदाधिकारी तथा सदस्यहरूले बताउनुभएको छ।





