एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त १० : जनकपुरधामको विश्वकर्मा चोक स्थित संस्कृति विद्यामन्दिरले आफ्नो पहिलो वार्षिकोत्सव संस्कृति उत्सव २०८२ को रुपमा मनाउँदै विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
जनकपुरधाममा एक विशेष समारोहको आयोजना गरी विद्यालयले विभिन्न कक्षाका विद्यार्थीहरूलाई दीक्षित समेत गर्दै विद्यालयका विद्यार्थीहरूको कलाकौशल प्रस्तुतिको आयोजना गर्दै उत्सव मनाएका हुन् । साथै सोही अवसरमा विद्यालयका सञ्चालक डाक्टर अनिल अग्रवालले आफ्ना स्वर्गीय पिता पवन बाजोरियाको स्मृतिमा यसै वर्षदेखि संगीत तथा कला पुरस्कार २०८२ को स्थापना गर्दै एकजना मैथिली गायकलाई पुरस्कृत पनि गरेको छ ।

स्वर र संगीतका साधकसमेत रहेका उनका स्वर्गीय पिता पवन बाजोरियाको स्मृतिमा स्थापित संगीत तथा कला पुरस्कार २०८२ बाट मैथिली गायक ललित कामतलाई नगद ११ हजार पुरस्कार सहित सम्मानित गरिएको हो। छनौट समितिका संयोजक वरिष्ठ पत्रकार एवं साहित्यकार हिमांशु चौधरीले कामतको नाम छनौट गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सभाका सभामुख राम अशिष यादव, विशिष्ट अतिथिहरू जनकपुरधामका मेयर मनोज कुमार शाह, जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन साह सहितको उपस्थितिमा विद्यालयका कक्षा ८ र युकेजीका विद्यार्थीहरूलाई दीक्षित गरिएको छ ।

वक्ताहरूले डाक्टर अग्रवाल जनकपुरधाममा शिक्षा क्षेत्रमा गरिरहेको लगानी, भूमिका र सक्रियताको बारेमा बोल्दै विद्यालयको वार्षिक उत्सवको अवसरमा गरिएको अतिरिक्त क्रियाकलाप र कलाकौशल प्रस्तुतिको सराहना गरेका थिए। डाक्टर अग्रवालले आफ्नो निजी लगानीमा विद्यामन्दिरको स्थापना गरेको एक वर्ष पूरा भएको छ ।






