एसपी रिपोर्टर
जनकपुरधाम, पुष १ :
मधेश प्रदेशमा आधारभूत सिकाइ सम्बन्धी नीतिगत संवाद सम्पन्न भएको छ । मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजना, ब्रिटिश काउन्सिलको प्राविधिक सहयोग र युनिसेफसँगको सहकार्यमा ‘आधारभूत सिकाइ’ शीर्षकको नीतिगत संवादमा मधेश प्रदेशको शिक्षा स्तर उकास्ने आधारहरुको पहिचान र विभिन्न उपायहरु बारे विर्मश भएको छ ।

चार सत्रमा सम्पन्न नीतिगत संवादमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र अन्य शिक्षा सरोकारवालाहरू, विद्वानहरू तथा प्रदेशका नीति निर्माताहरूसंग एक साथ छलफल गर्दै विभिन्न तर्कहरु अगागि सारिएको छ । शिक्षा विकास निर्देशनालयको नेतृत्वमा भएको पहिलो सत्रमा निर्देशक महेन्द्र महतो, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व सचिव डा. रामस्वरूप सिन्हा सहितकाले आ आफनो धारणा राखेका थिए ।

मधेश प्रदेश विश्वविद्यालयका डीन डा. अञ्जय मिश्राले आधारभूत सिकाइको अवधारणालाई मानव जीवनको आधारभूत र सबैभन्दा महत्त्वपूर्ण शिक्षा आधारका रूपमा प्रस्तुत गरेका थिए । प्रदेश शैक्षिक तालिम केन्द्र, शिक्षा विकास तथा समन्वय इकाई र अन्य सरोकारवालाहरूले विर्मशका क्रममा सहभागीहरूको भूमिकालाई उत्प्रेरित गर्न शुभकामना मन्तव्य राखेका थिए । संवादका उद्देश्यहरू युनिसेफका शिक्षा अधिकारी इन्द्रप्रसाद गुप्ताले प्रस्तुत गरेका थिए ।

दोस्रो सत्रलाई ब्रिटिश काउन्सिलका प्राविधिक विज्ञ दिनेश सञ्जेलले सहजीकरण गरेका थिए, जसमा सन् २०२० देखि २०२४ मा आधारभूत सिकाइको प्रगतिको तथ्यमा आधारित तथ्याङ्क र विश्लेषण प्रस्तुत भएको थियो । तेस्रो सत्र कार्यशाला सत्रका रूपमा सञ्चालन भएको जस्मा ब्रिटिश काउन्सिल र युनिसेफको टोलीले रणनीतिक रूपमा सहभागीहरूलाई पाठ्यपुस्तक तथा पाठ्यक्रम, मूल्याङ्कन, तालिम तथा विकास, र नीति तथा संलग्नता सम्बन्धी छलफल र सुझावका लागि चार समूहमा विभाजन गरेको थियो ।

समुहहरुमा मेयर, उपमेयर, शिक्षा अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक–शिक्षक संघका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाहरू सहित विभिन्न स्थानीय तहका सहभागीहरूले स्रोत, चुनौती र आगामी बाटोबारे आफ्ना विचारहरू प्रस्तुत गरेका थिए ।

सहभागीहरूले कक्षा १ देखि ३ सम्मका सिकाईहरुमा गुणस्तर थप सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए । अन्त्यमा मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. शिला मिश्राले वर्तमान शिक्षा अवस्थालाई उकास्न आधारभूत तहमा सिकाइ गतिविधिहरू केन्द्रित गर्नुपर्नेमा जोड दिइन् ।

मधेश प्रदेशका सबै जिल्लाबाट ४८ जना पुरुष र २२ जना महिला सहित जम्मा ७० जना सहभागिता रहेको संवादमा संघीय, प्रदेश र स्थानीय तहका सरकार तथा विकास साझेदारहरूको उपस्थिती थियो ।