एसपी रिपोर्टर
जनकपुरधाम, पुष ६ :
मधेसको शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले मधेसमा सरकारहरु स्थिर हुन नसक्दा परिणाम मुखी कार्यहरु हुन नसकेको बताउनु भएको छ । वरिष्ठ पत्रकार सुजीतकुमार झाद्वारा लिखित पुस्तक ‘युग युग सियागाम’ नामक पुस्तकको लोकार्पण गर्नुहुँदै उहाँले स्थिर सरकार प्रदेशमा नभएसम्म परिणाम मुखी कार्य हुन नसक्ने बताउनु भयो ।

उहाँले एउटा कुनै योजनाको शुरुवात हुन्छ केही दिन नबित्दै अर्को सरकार आउँछ योजना नै ठप्प हुन्छ, त्यसैले प्रदेश विकासकालागि स्थिर सरकार आवश्यक रहेको बताउनु भयो । एक अर्को प्रसंगमा मन्त्री तिवारीले प्रत्येक व्यक्तिको पहिलो शिक्षक महिला हुने भएकाले महिला शिक्षित हुनु आवश्यक रहेको बताउनु भयो ।

मिथिला तथा जनकपुरधामको विषयमा शिक्षिका तथा विद्यार्थीहरुबीचको संवादको माध्यमले लेखिएको संचारकर्मी झाको पुस्तक तर्फ इंगित गर्दै उहाँले महिला नै प्रत्येक व्यक्तिको पहिलो शिक्षक हो भन्ने भावना यो पुस्तकले दर्शाएको भन्दै लेखकको प्रशंसा गर्नु भयो ।

पत्रकारिता र साहित्य तथा मैथिली भाषा र लेखनमा सक्रिय लेखक पत्रकार झाले विभिन्न सन्दर्भका मैथिली पुस्तकहरु ध्माधम प्रकाशन गर्ने गरेका छन् ।