एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २ :
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जनकपुरधामको आयोजनामा धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाइएको छ ।

वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउने गरिन्छ ।

देव र असुर मिली नागको नेती तथा मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ । आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रूपमा पनि मनाउन थालिएको हो ।

हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जनकपुरधामका प्रमुख डा. महारुद्रकुमार ठाकुरले आफुहरु हरेक वर्ष यसरीनै जयन्ती र दिवस मनाउदै आएको बताए । कार्यक्रममा प्रदेश सभा सदस्य रामअशषि यादव,जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल, सहित चिकित्सक र कर्मचारीहरुको सहभागिता रहेको थियो ।