एसपी रिर्पोटर
जनकपुरधाम, भदौ ८ : नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिँचाइ विभागको कमला सिँचाइ व्यवस्थापन कार्यालय, धनुषाले आफनो कार्यालय विरुद्व सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह भएको भन्दै आपत्ति जनाएको छ ।
गत भदौ ५ गते धनुषाका केहि अनलाईन सञ्चार माध्यमले समाजिक सञ्जाल फेसबुक पेजमार्फत कार्यालय र कर्मचारीमाथि लक्षित गरी भ्रामक सामग्रीको प्रशारण गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको कार्यालयले जनाएको छ । ती सामग्रीहरूमा तथ्यहीन रूपमा कार्यालय प्रमुख सहित कर्मचारीलाई बदनाम गर्ने खालको प्रयास भएको र यसले सार्वजनिक धारणा गलत दिशातर्फ मोड्ने काम गरेको कार्यालयको भनाइ छ ।
कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ – “गत आर्थिक वर्षमा कार्यालयले कुनै संस्थासँग सम्झौता नगरेको र सेवा शुल्क समेत कसैको वाँकी नरहेको अवस्थामा यस किसिमको प्रचार/प्रसार अत्यन्तै आपत्तिजनक र अस्वीकार्य छ ।”
कार्यालयको प्रवेशद्वारमा राखिएको कार्यालयको बोर्ड अगाडि उभिएर बोल्ने क्रममा कार्यरत कर्मचारीलाई लाञ्छित गर्ने प्रयास भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यस्ता गतिविधिले कार्यालयको छवि मात्र होइन, सरकारी सेवा प्रवाहमा समेत अवरोध पुर्याउने भएकाले तत्काल रोक्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
कमला सिँचाइ व्यवस्थापन कार्यालयले धनुषा, सिरहा, महोत्तरी र सप्तरी जिल्लामा सिँचाइ सेवा पुर्याउँदै आएको छ । कार्यालयका प्रमुख वीरेन्द्र कुमार यादवले हस्ताक्षर गरेको विज्ञप्तीमा तोकिएको नियमअनुसार दर्ता र नवीकरण भएका संस्थासँग मात्र काम गर्ने व्यवस्था रहेको भए पनि केही व्यक्तिहरूले तथ्यहीन र बिना अधार जनतालाई भ्रममा पार्ने काम गरिरहेको आरोप लगाएका छन् ।
तथ्यहीन समाचार प्रकाशन वा प्रसारण नगर्न सम्बन्धित पक्षलाई सचेत गराउँदै नभएको विषयमा अनावश्यक, तथ्यहीन हल्ला फैलाउने विरुद्ध कानुन उपचारको लागि सम्बन्धित निकायमा जाने विज्ञप्तीमा चेतावनी दिईएको छ । समाचारको न्युनतम मापदण्ड पनि पुरा नगरि एकतर्फी भ्रम फैलाउने मनशायले समाग्री सम्प्रेशित हुनु दुःखद रहेको कार्यालयले जनाएको छ ।







