एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ४ :
धनुषाको लक्ष्मिनिया गाउँपालिकाका एकल महिलाहरुले सामाजिक सुरक्षाको माग गर्दै प्रभात रैली निकालेका छन् । लक्ष्मिनिया गाउँपालिकास्थित एकल महिलाहरुको समुह तथा दलान नेपालको आयोजनामा लक्ष्मिनिया गाउँपालिकाका एकल महिलाहरुले प्रभात रैली निकालेका हुन् ।
समाजले एकल महिलालाई हेयको दृष्टिले हेर्ने प्रवृतिमा परिवर्तन ल्याउने उद्देश्यले लक्ष्मिनिया गाउँपालिकाको प्रत्येक वडामा ५÷५ जनाको समूहमा एकल महिला टोली बनाइएको छ । सो टोलीले आफ्नो अधिकार तथा सामाजिक सुरक्षाकालागि आफै पैरवी गर्ने गरेको लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ४ की संगीता ठाकुरले बताउनु भयो । उहाँले एकल महिलाहरुको अगुवा टोली बनाइएपछि आफ्नैलागि पनि बोल्न नसक्नेहरु अहिले आएर अधिकारकालागि पैरवी गर्न सक्ने भएको बताउनु भयो ।

दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले लक्ष्मिनिया गाउँपालिकाको प्रत्येक वडामा ५ जना अगुवा एकल महिला बनाएर एकल महिला टोली बनाइएको जानकारी दिनुभयो । उहाँले एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्ता तथा बृद्ध भत्तामा समन्वय गर्नु यो कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताउनु भयो ।

एकल महिलाहरुको अभियानपछि एकल महिलाहरुको मनोबलमा विकास त भएको छ नै यसका साथै स्थानीय तहहरु समेत एकल महिलाहरुको सामाजिक सुरक्षाको ग्यारेण्टी गर्न प्रतिवद्धता समेत व्यक्त गर्न थालेको बताउनु भयो ।