एसपी रिपोर्टर
जनकपुरधाम, साउन १६ :

सुडी समाज महासंघ नेपालको दोस्रो वार्षिकोत्सवको अवसरमा महासंघ र आबद्ध संस्थाहरूबीच समन्वय, आपसी सम्बन्ध सुदृढीकरण तथा साझा उद्देश्यप्रति प्रतिबद्धता अभिवृद्धिका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
सुडी समाज महासंघ नेपाल जिल्ला कार्य समिति धनुषाको आयोजनामा जनकपुरधाममा सम्पन्न उक्त कार्यक्रममा महासंघका पदाधिकारी, सल्लाहकार, परिषद सदस्यहरू, आवद्ध संस्थाका अध्यक्षहरू, प्रतिनिधिहरू, समाजसेवी र अगुवाहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष मनोज कुमार महतोले अन्तरक्रिया कार्यक्रमको उद्देश्य, आवश्यक्ता र सन्दर्भबारे विस्तृत जानकारी प्रस्तुत गर्दै संगठन र आबद्ध संस्थाहरूबीच समन्वय र स्पष्ट कार्यदिशाको खाँचो औंल्याए ।
सुडी समाज महासंघ नेपालका अध्यक्ष परमेश्वर महासेठले सहभागीहरूको जिज्ञासालाई सम्बोधन गर्दै संगठनको भावी योजना र प्राथमिकताहरूबारे जानकारी गराए । जनकपुरधाम उपमहानगरपालिका नगरप्रमुख तथा रामपुर सुडी समाजका अध्यक्ष मनोज कुमार साहले समाजमा व्याप्त अन्धविश्वास, कुरीति र विभेदबारे गम्भीर चर्चा गर्दै तिनको समाधानका लागि सामूहिक प्रयास हुनुपर्नेमा जोड दिए ।
महासंघका महासचिव राम उदार महासेठले संगठनको आन्तरिक सुदृढीकरण, संस्थागत व्यवस्थापन तथा सञ्चालनका पक्षमा सहभागीहरूबाट उठेका जिज्ञासाको जवाफ दिँदै भावी कार्यदिशामा स्पष्ट मार्गनिर्देशन गरे ।