एसपी रिपोर्टर
जनकपुरधाम, असार २६ : युवाहरु नै भोली कर्णधार हुन भन्ने कुराको चरितार्थ रौनियार युवा मञ्चले गरेको छ । रौनियार सेवा समिति शुन्यताको समयमा रहेका वेला पनि रौनियार युवा मञ्चले तत्काल आफनै बलबुतामा वर्षेनी आयोजना गर्ने एसईई उत्तिर्ण विद्यार्थीहरुको सम्मान र पुरस्कार वितरण कार्यक्रम यस वर्ष पनि गरेर देखाएको छ ।
युवा मञ्चका अध्यक्ष राकेश कुमार रौनियारको अगुवाईमा भएको कार्यक्रममा सेवा समितिका साविकका मुल अभिभावक छ मध्ये जनकपुरधाममा उपलब्ध तीनजना जयेष्ठ संरक्षक सदस्यहरु वरिष्ठ ई. चन्देश्वर प्रसाद रौनियार, योगेन्द्र प्रसाद साह र रामचन्द्र साहको समेत उपस्थितिमा धनुषा जिल्लाका रौनियार समुदायबाट एसईई २०८१ उत्तिर्ण गरेका कुल १५ जना छात्र/छात्राहरु र उनका अभिभावकहरुलाई पुरस्कृत र सम्मानित गरिएको छ ।

छात्र/छात्राहरुलाई खाद्या, माला, प्रमाणपत्र, नगद र उनका अभिभावकहरुलाई खाद्या माला लगाएर सम्मान गर्दै उच्च शिक्षाका लागि मनोबल बढाउन कार्यक्रमलाई कुनै पनि हालतमा निरन्तरता दिनुपर्ने भएकाले गरिएको मञ्चका उपाध्यक्ष मनोज गुप्ता र महासचिव रञ्जित गुप्ताले बताए ।
युवा मञ्चका वर्तमान, निवर्तमान र पुर्व पदाधिकारी तथा सदस्यहरुका साथै समुदायका युवा तथा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, निर्माण व्यवसायी संघ धनुषाका उपाध्यक्ष जय प्रकाश साह सहितको उपस्थितीमा भएको कार्यक्रममा वक्ताहरुले सेवा समितिको समस्या समाधानमा युवा मञ्चले हस्तक्षेपकारी भुमिका खेल्न आवश्यक रहेको बताए ।
सेवा समिति मुल नेतृत्वबाट बञ्चित भएको पाँच महिना भइसकेपनि नेतृत्व गर्दै आएको समुह संवेदनशिल हुन नसक्नु र कुनै न कुनै बाहानामा सेवा समितिलाई शुन्यताको समयमा राखिराख्नु बिडम्बना भएको सहभागीहरुको भनाई थियो । सो अवसरमा मञ्चका पुर्व अध्यक्ष अशोक गुप्ता, शुनिल गुप्ता, सन्तोष गुप्ता, कार्यक्रम संयोजक सिताराम गुप्ता, युवा अगुवा सुशान्त गुप्ता सहितको उपस्थिती थियो ।





