एसपी रिपोर्टर
जनकपुरधाम, माघ ६ : नेविसंघका विद्यार्थीहरुले राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रो. डा. अमर प्रसाद यादवको पुत्ला दहन गरेका छन् । उपकुलपति यादवसँगै क्याम्पस प्रमुख डा. सरोज ठाकुरको मिलोमतोमा स्ववियू सभापतिलाई उचालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वउपसभापति विमलेन्द्र निधिको तस्बिर जलाइएको भन्दै विरोधस्वरुप नेविसंघ पनि पुत्ला जलाएको हो ।
नेविसंघका विद्यार्थीहरुले उपकुलपति यादवको राजीनामा माग गर्दै जोडदार विरोध जनाएका छन् । विरोध प्रदर्शनको नेतृत्व गर्दै नेविसंघ स्ववियू सभापतिका प्रत्याशि त्रिलोक कुमार यादवले पुत्ला दहनको कारणको बारेमा जानकारी दिएका छन् । यादवले भने, ‘उपकुलपति यादवले नेविसंघको नाममा कुनै पनि प्रकारको सहयोग नगर्ने मानसिकता देखाइ उल्टै हामीलाई बदनाम गर्न चाहिरहेका छन् ।’
विश्वविद्यालय प्रशासनको ढिलाइ र अव्यवस्था कारणले ‘जय नेपाल टि–२० कप’ प्रतियोगितामा विश्वविद्यालयको सहभागिता प्रभावित भएको उनको दावी छ । क्याम्पस प्रशासनले समयमै दर्ता नगरेको, खेलाडी र टिम तथा कप्तान छनौटमा जानजानी विलम्व गरेर नियोजित रुपमा क्याम्पस प्रशासनले प्रतियोगितामा राजर्षि जनक विश्वविद्यालय सहभागी हुन नसकोस भन्ने स्थितीको सृजना गरेको यादवले बताए ।
विश्वविद्यालय प्रशासनले स्ववियू सभापतिलाई उचालेर कांग्रेस सभापति देउवा र पूर्वउपसभापति निधिको चित्र जलाएर आफ्नो गल्तीलाई ढाकछोप गर्न चाहेको आरोप उनको छ ।