एसपी रिपोर्टर
जनकपुरधाम, असोज १९ : पत्रकारितामा धर्मेन्द्र झाका नामले चिनिने धर्मेन्द्र साहित्य र अनुसन्धानका क्षेत्रमा पनि जमेका परिचित नाम हुन । मूलतः मैथिली र नेपाली भाषामा कलम चलाउने उनी साहित्यमा धर्मेन्द्र विह्वलका नामले परिचित छन । साहित्यमा यी दुबै भाषामा उनको दर्जनबढी पुस्तकाकार कृति प्रकाशित छन ।
पत्रकारका रूपमा धर्मेन्द्र विभिन्न सन्चारमाध्यममा आबद्ध भै सम्पादकीय नेतृत्व समालिसकेका छन भने नेपाल पत्रकार महासङ्घ (२०६५–६८) को केन्द्रीय अध्यक्षको भूमिका निर्वाहको पनि अनुभव बटुलिसकेका व्यक्तित्व हुन । पत्रकारिताका प्रशिक्षक समेत रहेका झाका पत्रकारिता सम्बन्धी अनेकौ पुस्तक प्रकाशित छन ।
आज झा र बिह्वलकाबारेमा थोरै कुरा । पत्रकार झा जत्तिकै महत्वपूर्ण व्यक्तित्व हुन साहित्यकार विह्वल । तै पनि नेपालको नेपाली साहित्य क्षेत्रले उनका बारेमा धेरै जाने जस्तो गर्दैन । सायद विह्वलले धेरैजसो साहित्य रचना मैथिलीमा गर्ने भएर पनि यसो भएको होला ।
केही महिना अघि ‘शहरक भीडमे एसगर हम’ नामक प्रयोगवादी मैथिली कविता संग्रह पाठकमाझ पस्केका विह्वलको मैथिली भाषामा हालै एक अनुसन्धानात्मक कृति ‘मिथिला मिथक’ प्रकाशित भएको छ । साहित्यको सबैजसो बिधामा कलम चलाउने उनी मैथिली साहित्यमा मूलतः कवि र नियात्राकारका रूपमा स्थापित छन । तर यस पटक भने विह्वल फरक रूप र शैलीमा प्रस्तुत भएका छन ।
उनको यो पछिल्लो कृति मिथिला मिथक अनुसन्धामा आधारित छ । यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली मिथक कोषका रूपमा नेपालका केही भाषामा प्रचलित मिथकको संकलन प्रकाशित गरेको सन्दर्भलाइ अपवाद माने हो भने नेपाल र यहाँ बोलिने भाषामा मिथकबारे खासै काम हुन सकेको छैन । यस्तोमा सायद यो पुस्तक यस विषयमा नेपालमै पहिलो हुन सक्छ ।
मुख्यतया नेपालको मैथिलीभाषी समाजमा किम्ब्दन्ती र विश्वासका रूपमा जीवित मान्य्ताहरू, संक्लन गरी यस पुस्तकमार्फत प्रस्तुत गरिएका छन ।
मिथिला र मिथक, मिथिला, सीतायण र महाभारत, मिथिला बिभुती, चाडपर्व, मन्दिर, देव–देवी र पोखरीतथा जनश्रूति तथा जनविश्वास गरी छ अध्यायमा बिभाजित पुस्तकमा एक सय ११ वटा मिथक संकलित छन । लेखकका अनुसार यो अध्ययन प्रारम्भ्मात्र हो अन्त्य होइन । उनी भन्छन, ‘मिथिला क्षेत्रमा विश्वासका रूपमा यस्ता थुप्रै सन्दर्भ छन जसको खोजी र अध्ययन हुनु जरूरी छ ।’
पुस्तकका भूमिका लेखक मैथिली साहित्यका अनुसन्धानकर्ता लेखक विद्वान डा रमानन्द झा रमणका अनुसार यस्ता सन्दर्भहरूको अध्ययनले सम्बद्ध समाजको इतिहास, सभ्यता र परम्परा बुझ्न सघाउछ । विद्वान रमणले मैथिली भाषामा संकलन गरिएका यस्ता उदाहरण भारतमा पनि उपलब्ध नभएको बताएका छन ।
अध्ययन प्रकृयाका दृष्टिले निकै जटिल मानिने मिथक स्वयममा ईतिहास मानिदैन तर यिनले इतिहासको अध्ययन प्रक्रियालाई भने आधार प्रदान गर्ने विश्वास गरिन्छ । पुस्तक प्रस्तुतकर्ता विह्वलले, यसमा संकलित सबै सामग्री मिथक नै हुन भन्ने दावी गरेका छैनन । उनलाइ मिथक भन्नेजस्तो जे लागेको छ ती सामग्री प्रस्तुत गरेका छन । विह्वल भन्छन, ‘तर यो कृतिले मिथक अध्ययनका बारेमा बहस भने प्रारम्भ गर्नेछ ।’
कूल एक सय १२ (कभरसमेत) पृष्ठको यो पुस्तक मुन्नी कुमारी मिश्रले प्रकाशित गरेकी हुन । कलाकार आकांक्षा झाले आवरण कला तयार गरेकी यो पुस्तक मूल्यका दृष्टिले चार सय रूपैया केही बढी रहेको बोध गरिए पनि नहत्वका दृष्टिले भने कृति उपयोगी र संग्रहणीय रहेको कुरामा बिमती हुन सक्दैन ।