एसपी रिपोर्टर
जनकपुरधाम, साउन २९ : कृषक पाठशाला प्रणाली संयोजन र कृषक पाठशाला अभ्यास सम्बन्धमा नीतिगत संवाद सम्पन्न भएको छ । जनकपुरधाम स्थित भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा राष्ट्रिय कृषक समुह महासंघ नेपालको आयोजनामा भएको संवादमा पाठशाला अन्तर्गत अहिले सम्म भएका अभ्यास र गतिविधीहरुको चर्चा गर्नुका साथै त्यसले परेको प्रभावको समिक्षा गरिएको थियो ।

पाठशाला संस्थागत गर्न अहिले सम्म भएका समुहको सहजीकरण देखि तिनै तहको सरकार बिच प्रणाली संयोजन विकासका लागि भएको प्रयासका बारेमा पनि छलफल गर्दै संघिय र मधेश प्रदेश तहमा प्रस्तावित कृषक पाठशाला संयोजक समितिको संरचना र प्रारुपका विषयमा गहन छलफल भएको महासंघ मधेश प्रदेशका अध्यक्ष दिपक कुमार ठाकुरले बताए ।
सो अवसरमा मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले किशान समृद्व भए मात्र सरकारको सबै नीति सफल हुने भएकाले पाठशालाको अवधारणा सफल बनाउन मन्त्रालय हरेक सहयोग गर्ने प्रतिवद्वता जाहेर गरेका थिए ।





