एसपी रिपोर्टर
जनकपुरधाम, साउन २३ :
नागरिकको संवैधानिक र मानव अधिकार सम्बन्धि हकमा पहुँच बारे धनुषाका सञ्चारकर्मीहरु संगको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । दलित समाज उत्थान समिति नेपालको आयोजनामा धनुषाका करिव दुई दर्जन पत्रकारहरु संग भएको कार्यक्रममा नागरिकको संवैधानिक र मानव अधिकार, नयाँ फौजदारी, देवानी र प्यानल संहिता बारे नागरिकलाई जानकारी गराउन सञ्चारक्षेत्रको भुमिका के हुन सक्छ ? भन्ने विषयमा संवाद भएको थियो ।

युएनडिपीको आर्थिक तथा प्राविधिक सहयोग तथा समितिको सहजीकरणमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका र लक्ष्मीनियाँ गाँउपालिकाको ८ तथा महोतरीको महोतरी र मनरासिस्वा पालिकाको १० गरि कुल १८ वटा वडाहरुमा सञ्चालिक परियोजनाले सो उद्देश्यका साथ काम गरिरहेको परियोजना मधेशकी संयोजक उर्मिला रोक्काले बताईन ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह तथा वरिष्ठ पत्रकार कमल साहले परियोजना नागरिकको वास्तविक अधिकार र हकलाई उद्देश्य बनाएकाले सफलताको शुभकामना दिए । दलित समाज उत्थान समिति नेपालका संस्थापक अध्यक्ष शुनिल ठाकुर तथा वर्तमान अध्यक्ष डेजी पाण्डेले सबैले आ आफनो समस्या र चुनौती मात्र देखाएर अव निकास ननिस्कने भन्दै समाधानका लागि अग्रसर हुन आवश्यक रहेको बताए ।

सो अवसरमा पत्रकारहरुको तर्फबाट पत्रकार सुजित झा, अजय कुमार झा, धर्वेन्द्र झा सहितकाले आ आफनो धारणा राख्दै मुद्दा र सान्दर्भिक समस्याहरुको जानकारी पत्रकारहरुलाई गराइदिन आग्रह गरेका थिए । सो अवसरमा पत्रकारहरुले खेल्नुपर्ने भुमिकाका साथै तत क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुले सञ्चारमाध्यमहरु संगको सहजीकरणका बारेमा पनि विर्मश गरिएको थियो ।