एसपी रिपोर्टर
जनकपुरधाम, असार १८ :
जनकपुरधामका विभिन्न स्थानमा सीसीटीभी जडान गरिएको छ । सीसीटिभी जडान गर्ने क्रममा अहिलेसम्म जनकपुरधाम वडा नम्बर २ मा २० वटा र वडा नम्बर ३ मा १० वटा सीसीटीभी जडान गरिएको हो । यी दुवै वडाका विभिन्न स्थानमा गरी ३० वटा सीसीटीभी जडान गरिएको छ । यसका लागि वडा नम्बर २ मा १० लाख र वडा नम्बर ३ मा पाँच लाख बजेट छुट्याइएको थियो ।
वडा कार्यालयहरूले जडान गरिदिएको यी सीसीटीभीको निगरानी तथा सञ्चालनको जिम्मेवारी जिल्ला प्रहरी कार्यालयलाई दिइएको छ । सीसीटीभी जडानले अपराधिक घटनाको न्यूनीकरण तथा अपराधीको पहिचानमा सहयोग पुग्ने धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।
सीसीटीभी जडानका लागि वडा नम्बर ३ का सदस्य रितेश भगतले पहलकदमी लिएका थिए ।