एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३१ : नेपाल भारत सीमा दुई देशको सम्बन्ध सुमधुर यथावत राख्न वैज्ञानिक तिरकाले व्यवस्थापन गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल भारत खुल्ला सीमा संवाद समूह सिरहाले बिहीबार सिरहामा आयोजना गरेको नेपाल भारत खुल्ला सीमा सुमधुर सम्बन्धको आधारशिला विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सीमा थप व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
संवाद समूहका केन्द्रय अध्यक्ष राजिव झाले खुल्ला सीमामा पछिल्लो समय चेकजाँचको नाममा सर्वसाधारणलाई दुबै देशका सुरक्षकर्मीबाट दुव्र्यबहार झेल्नु परेको बताए । उनले भारतीय सुरक्षाकर्मी एसएसबी र नेपाली सुरक्षाकर्मी सशस्त्र प्रहरीको यस्ता कार्यले सदियौंदेखिको रोटीबेटीको सम्बन्ध दरार पैदा हुँदै गएको तर्क गरे ।
‘खुल्ला सीमाले हुने तस्करी, लागूऔषध ओसारपसार, अपराध प्रहरी प्रशासनले नै नियन्त्रण गर्न सक्छन् । तर त्यता तिर ध्यान दिँदैन । तस्करलाई रोक्न सक्दैन । तर त्यसको नाममा दुबै देशका आमसर्वसाधरणलाई अनावश्क दुःख दिने काम बढेको छ । यसले दुबै देशको सदियौंको सम्बन्धमा दरार पैदा भइरहेको छ’
दुबै देशका सरकारले सुरक्षा निकायमा जनतासित राम्रो व्यवबहार गर्न निर्देशन दिनुपर्ने उनले बताए । सीमामा अपराध तस्करी रोक्न तारजाली गर्नु समस्याको समाधान नरहेको भन्दै खुल्ला राखेर पनि वैज्ञानिक पद्धति अपनाएर व्यवस्थित गर्न सके दुबै देशको सम्बन्ध प्रगाढ भइराख्ने उनको तर्क छ । देशमा आर्थिक संकट भएको बेला १ हजार ७५१ किलोमिटर खुल्ला सीमामा तार जाली गर्नु उचित नहुने उनले बताए ।
भारत कम्युनिष्ट पार्टी मालेका नेता भुषण सिंहले खुल्ला सीमा व्यवस्थपनको लागि अभियान चलाउनु पर्नेमा जोड दिए । सीमा सुदृढिकरण नभए अपराध मौलाउँदै जाने र सुरक्षाकर्मीको व्यबहारले सम्बन्धमा थप तिक्तता हुने उनको भनाइ थियो । बरिस्ठ पत्रकार ललित झाले आफ्नो नानी गाउँ आउन जान पनि अपमान झेल्नु पर्ने र टेक्स तिर्नु पर्ने जस्ता राज्य संग प्रस्न गर्नु भयो।
सिरहाका प्रबुद्ध नागरिक समाजका अगुवा डा. रामप्रताप यादव सीमा सम्बन्धी कानुन नीति सुधार आवश्यक रहेको बताए । दुबै देशले राष्ट्रियता बचाएर तस्करी, अपराध न्यूनिकरण गर्दै सुमधुर सम्बन्ध अनुकुल बनाउनु पर्ने बिचार उनले व्यक्त गरे ।
प्रोफेसर चन्देश्वर प्रसाद यादवले अपराध न्युनिकरणको विषयमा बिचार गर्दै खुल्ला सीमा विषयमा मन्थन गर्नुपर्ने अवश्यक्ता रहेको बताए । कार्यक्रम मा संस्थाका सचिब अनिल सिंह,मधेस प्रदेश सह संयोजक दिपक यादव,जयनगर चेम्बर अफ कमर्स को सचिब अनिल बरौलिया,बिस्णु बाबू सिंह राम किशोर महतो लगायतले बोल्नु भएको थियो ।