एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १४ :
जनप्रतिनिधिलाई झुक्याएर पोखरी खनाउने भनेर सिफारिस लिई अर्कैको जग्गाको भूमाफियाहरुले सयौं टिपर माटो ग्राभेल रातारात खनेर बिक्री गरेको घटना बाहिरिएको छ ।
जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ स्थित छगरियामा रहेको सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर १ कि रेणुका यादवको नाममा रहेको किता नम्बर ३०, १५२, ३१८ को २ विग्घा निजि जग्गाको उनलाई जानकारी नै नदिई भू माफियाहरुले लुकिछिपी रातारात ग्राभेल खनेर बिक्री गरिएको हो ।
आमको बगौचा लागेको सो जग्गा आफूले किन्न लागेको भनेर क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ९का लक्ष्मी साह र धनुषाधाम नगरपालिका २ मंगलपुरका आनन्द साहले धनुषाधाम वडा नम्बर ९ का अध्यक्ष सरोज लामालाई भुक्याएर पोखरी खनाउने भनेर सिफारिस लिई रातारात डेढ सयभन्दा बढी टिपर ग्राभेल खनेर विक्री वितरण गरेका छन् ।
पिडित रेणुकाले सोमवार एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो निजि जग्गामा जानकारी नदिई आनन्द साह र लक्ष्मी साह नाम गरेको व्यक्तिले ग्राभेल खनेर विक्री वितरण गरेको आरोप लगाईन । उनले भनिन् आफूलाई पहिला जानकारी नै भएन पछि थाहा भएपछि ईलाका प्रहरी कार्यालय ढल्केवरमा बुझ्न जाँदा पोखरी खन्ने भनेर वडा कार्यालयबाट सिफारिस लिएको बुझियो ।
वडा कार्यालयमा बुझ्न जादाँ आफ्नो हस्ताक्षर किर्ते गरी आनन्द साह र लक्ष्मी साह नामको व्यक्तिले पोखरी खन्ने भनेर सिफारिस लिई ग्राभेल खनेको थाहा पाए । वडाध्यक्ष लामासँग आफ्नो बिना स्वीकृति बिना पोखरी खन्न सिफारिस किन दिएको सोध्दा तपाईको नाममा निवेदन लिएर आएपछि सिफारिस दिएको बताए । आरोपित व्यक्तिलाई पक्राउ गरेर कारवाही गर्न माग गर्दा ईप्रका ढल्केवरले जग्गा सम्बन्धी मुद्दा पालिकाले हेर्ने भएकाले त्यहाँ जानु भनेर निवेदन नै लिएन । पछि शान्ति सुरक्षाको नाममा निवेदन लिएका छन् ।
आफूहरुले ग्राभेल खन्ने बिना नम्बर प्लेटको रहेका तीस्काईभेटर नियन्त्रणमा लिएपनि प्रहरीले त्यसलाई नियन्त्रणमा लिन नमानी ट्राफिकलाई भन्नु भनेर आलटाल गरिररहेको रेणुकाले आरोप लगाईन ।
घटना बारे थप जानकारी दिदैं रेणुले भनिन् गएको जेठ ९ गतेका दिन प्रतिमा ठाकुर नामक व्यक्तिको खाताबाट मेरो बैंक खातामा २ लाख ५१ हजार रुपैया आएको छ । त्यो रकम कसले कुन प्रयोजनले पठाएको थाहा भएन । पछि सोधखोज गर्दै जाँदा भू माफिया आनन्द साहको नजिकको मान्छे रहेको र आफ्नो जग्गा किन्न लागेको भनी हल्ला फैलाउन रकम पठाएको थाहा पाए । फोन गर्दा लक्ष्मी र आनन्दको कहिले मोबाइलै उठदैन त कहिले स्वीच अफ हुन्छ ।
यता ईप्रका ढल्केवरका प्रमुख इन्सपेक्टर राजकिशोर साहले घटना बारे थाहा पाए लगतै माटो ग्राभेल खन्न रोकाई दिएका छौं । तिनीहरुसँग सोधपुछ गर्दा जग्गा किन लागेको र उनीहरुको मंजुरीमा माटो ग्राभेल खनेको भनेका छन् । पिडीतको निवेदन दर्ता गरिसकेका छौं वडाले किर्ते जालजाजी गरेको भनेर प्रमाणित ग¥यो भनेर कानून बमोजिम कारवाहीका लागि हामी अघि बढाउनेछौं ।
उता वडाध्यक्ष सरोज लामाले रेणुका देवीको जग्गा आफूले किन्न लागेको भनेर आनन्द साहका श्रीमति प्रतिमा ठाकुरले २ लाख ५१ हजार रुपैया बैंकमा जम्मा गरेको र सोही रकम बराबरको चेक दिएको प्रतिलिपि देखाएपछि सिफारिस दिएको बताएका छन् । उनले भने शुरुमा मैले जग्गा धनीलाई बोलाएर ल्याउ भनेका थियौं, त्यसपछि रेणुका देवी बिरामी छ आउन सक्दैन भनी उनको नामको हस्ताक्षर सहितको निवेदन लिएर आएपछि सिफारिस दिएको हो ।
पछि जग्गा धनी रेणुका देवीले घटना बारे जानकारी नै रहेको भनेपछि आफू सर्तक भएका छौं । आफूलाई झुक्याएर सिफारिस लिनेहरुविरुद्ध कारवाही प्रक्रिया अघि बढाइ सकेका छौं वडाध्यक्ष लामाले भने ।