एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १८ :
महोतरीको मटिहानी नगरपालिकाका आगलागी पिडितहरुलाई नेपाल भारत मैत्री संघले राहत वितरण गरेको छ । संघको केन्द्रिय कार्यालयबाट १ सय ५ घरपरिवारका लागि २ थानका दरले झुल, तन्ना र बच्चाको कपडा, त्यसैगरि १ थानका दरले लुंगी, भेष्ट तथा साडी सेट उपलब्ध गराइएको हो ।

नगरपालिका प्रमुख हरिप्रसाद मण्डलको नेतृत्वमा सोमवार गरिएको राहत वितरण कार्यक्रममा संघका केन्द्रिय महासचिव बोधकृष्ण सुवेदी, मधेश प्रदेश अध्यक्ष रंधीर कुमार सिंह र केन्द्रिय सदस्य अरुण कुमार सिंहको उपस्थिती रहेको थियो ।

२०८० बैशाख १२ गते मटिहानी वडा नं. ६ स्थित जरलहवा गाछीमा आगलागी हुँदा करौंडौ मूल्य बराबरको क्षति भएको थियो । आगलागीबाट १ सय ३ परिवार नराम्ररी प्रभावित भएको नगरपालिकाले जनाइसकेको छ । त्यसयता विभिन्न संघसंस्थाहरुद्वारा राहत वितरण गर्ने क्रम जारी छ । अध्यक्ष दशनलाल मण्डलले जानकारी दिनुभयो ।