एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १४ : जनकपुरधाममा फागुन १९ गते देखि दोस्रो इन्टर कलेज टि–२० क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । सोमबार नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक मध्येका न्यू भिजन नेपालका अध्यक्ष अम्भु प्रसाद साहले जनकपुरधाममा खेलकुलसंगै पर्यटन प्रवद्र्वन पनि संगसंगै लाने उद्देश्यले यस्तो प्रतियोगिताहरु आयोजना गर्न लागेको बताए ।
क्रिकेट धनुषाको सुखद बिरासत हो, उनले भने, ‘बिडम्वना हाल राष्ट्रिय टिमममा धनुषाको कुनै प्रतिनिधित्व छैन ।’ धनुषा जिल्लामा खेलाडी उत्पादन गर्ने उद्देश्यले विभिन्न क्रिकेट प्रतियोगिताको आयोजना गर्दै आएको र आगामी शनिबारदेखि दोस्रो इन्टर कलेज क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको साहले जानकारी दिए ।
प्रतियोगिता न्यू भिजन नेपाल र जनकपुर स्पोर्टस क्लबको संयुक्त आयोजनामा हुन लागेको हो । क्रिकेट खेलको विकासका लागि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको एक सातापछि कलेज स्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको छ । जनकपुरधामको बाह्रबिघ्घा मैदानमा कूल १६ वटा टिमको सहभागिता रहने सो प्रतियोगिताको लिग चरणको आधारमा खेलाउने र फाइनल चैत्र १० गते हुने पनि अध्यक्ष साहले जानकारी दिएको छ ।
प्रतियोगितामा १५ वर्षभन्दा माथि २३ वर्ष मुनिका खेलाडीहरू मात्र सहभागी रहने छन् । प्रतियोगितामा छनौट चरण, क्वाटरफाईनल सेमिफाइनल तथा फाइनल गरेर चार चरणमा प्रतियोगिता गराइने आयोजकले जनाएको छ । यस प्रतियोगिता लगतै क्लब स्तरीय, अन्तर पालिका तथा जिल्ला स्तरीय प्रतियोगिता गरेर क्रिकेटको नयाँ खेलाडीको पहिचान गरेर उनीहरूको थप क्षमताको विकास गर्ने लक्ष्य रहेको प्रतियोगिताका संयोजक साहले जानकारी दिनुभयो ।
मधेश प्रदेश क्रिकेटका कप्तान हरिशंकर साहले यस्ता प्रकारको प्रतियोगिताले खेलको विकासमा मद्दत पुग्ने बताए । यस प्रकारको प्रतियोगिताहरू निरन्तर रुपमा भएमा खेलको विकासमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त उनको छ । प्रतियोगितामा कलेजहरुमा पढिरहेका नेपाली नागरिक विद्यार्थीहरुलाई मात्र सहभागी गराउन पाउने र कलेजभन्दा बाहिरको खेलाडी खेलाएमा टिमलाई प्रतिबन्ध लगाउन सक्ने आयोजकले जनाएको छ । प्रतियोगितामा करिब ९ लाख खर्च हुने अनुमान आयोजकको छ ।