एसपी रिपोर्टर
जनकपुरधाम, पुष १५ : साहित्यकार धर्मेन्द्र विह्वल भनेर समेत परिचित वरिष्ठ पत्रकार धर्मेन्द्र झाको पछिल्लो पटक मैथिली भाषाको ‘शहरक भीडमे एसगर हम’ नामक कविता संग्रह प्रकाशित भएको छ । उनको यो छैठौँ कविता सङ्ग्रह हो । मैथिली साहित्यमा प्रयोगधर्मी कविका रूपमा स्थापित विह्वलको यो कृति पनि एक प्रयोग नै रहेको छ ।
उनले यो कृतिमा एकै शीर्षक शहरमा ५१ वटा कविता अटाएर विशेष कृतिको रुपमा प्रकाशित गरेका छन् । यस संग्रहबाट मैथिली कविताका पाठकहरूले कवि धर्मेन्द्रको विस्तारित कविताको आनन्द लिन सक्नेछन् । आफ्नो समयको काव्यात्मक प्रतिमान स्थापित गर्न उन्मुख कवि धर्मेन्द्रको यो कविता संग्रहलाई विवेकशील पाठक, समीक्षक र साहित्यकार दार्शनिकहरूले मन पराउने विश्वास गरिएको छ ।
उनका कविताहरूमा व्यक्तिगत अनुभवहरूको जरा गाडिएको हुन्छ र यश कृतिमा समेत त्यसको अनुभव गर्न सकिन्छ । विह्वलका अनुसार साहित्य भनेको कल्पना मात्र होइन, यसले वास्तविकताका तत्वहरू समाहित गर्दछ र उनको काव्यात्मक अभिव्यक्तिमा त्यो भाव प्रष्ट प्रतिबिम्बित हुन्छ ।
छिट्टै मैथिली भाषामै अर्को कृति प्रकाशनको तयारीमा रहेको विह्वल आजिवन सञ्चार जगत र साहित्य लेखनबाट आफू बिट मार्ने सोचमा नरहेको बताउँछन् । यो कर्म उनको दैनिकी र जीवनको अभिन्न अंग सरह नै बनिसकेको उनको भनाई छ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र नेपाली र मैथिली दुवै भाषामा कलम चलाउँछन् ।
मिथिला नट्यकला परिषद्ले प्रकाशन गरेको कृति ‘शहरक भीड़मे एसगर हम’ मा आवरणसहित सबै चित्रहरू चर्चित मिथिला चित्रकार एस सी सुमनले बनाएका छन् । विह्वल्को शब्द र सुमनको चित्रको फ्युजनले सङ्ग्रहलाइ विशेष बनाएको छ । पुस्तकको मुद्रण पुष्पाञ्जली छापाखाना, अनामनगर काठमाडौंले गरेको हो ।
यस अघि उनको ‘रस्ता तकैत जिनगी (२०५१)’ , ’एक श्रृष्टि एक कविता (२०५६)’, ’एक समयक बात (२०६३)’, ‘धुवाँएल आकृतिसभ (२०६३)’ र ’व्योमक ओहि पार (२०७८)’ मैथिली कविता सङ्ग्रह प्रकाशित छन् ।