एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर ५ : धनुषाको रघुनाथपुर निवासी वामपन्थी नेता स्व. दिपनारायण दासको निधनभएको शोकमा गाँउमा शोकसभाको आयोजना गरि स्व. दासको स्मरण गरिएको छ । सभामा स्व. दासको आवद्वता रहेको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव पुर्व माओवादी नेता आहुती देखि माओवादी नेता लिलामणी पोखरेल, मातृका प्रसाद यादव, सिता दाहाल, मधेश प्रदेश मन्त्री सुनिता यादव, बोधमाया यादव, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, सबैलाका नगरपालिकाका प्रमुख र उपप्रमुख सहितको उपस्थिती थियो ।
सभामा बोलेका नेता आहुतीले संसदवादी कम्युनिष्ट पार्टीहरुले आत्मसम्र्पण गरिसकेकाले उनीहरुबाट केहि हुन्छ भनेर सोच्नु भुल हुने बताए । उनले एकातिर एमसिसीको विरोध र अर्को तिर एमसिसीमा हस्ताक्षर गरि आफुलाई वामपन्थी भन्ने संसदवादी पार्टीको चरित्र उदांगो भइसकेको भन्दै देशमा नयाँ जनवादी क्रान्ति भएरै छोडने बताए । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सात गते राजावादीहरुले गर्न लागेको काठमाण्डौं केन्द्रित प्रदर्शनको विरोध गर्न नसक्नु बिडम्वना रहेको बताए ।
मण्डलले सात गतेको प्रदर्शन गणतन्त्र र संघियतावादीहरुको लागि दुश्मनहरुको प्रर्दशन रहेको भन्दै दुश्मनलाई दुश्मन सरहकै व्यवहार हुनुपर्ने बताए । माओवादी नेताहरु मातृका यादव र लिलामणी पोखरेलले कम्युनिष्टहरुमा अवसरवाद हावी भएको र सबैले केहि न केहि पाउनै पर्छ भन्ने सोचका कारण पार्टीहरु कमजोर भएको बताउदै एक हुनुपर्ने बताए । उनीहरु सबैले स्व. दास अवसर र पद भन्दा पनि बैचारिक सैद्वान्तिक अडानमा एक्लै हिडेर एक्लिदै गएको स्वीकारे ।
स्व. दासका सहकर्मीहरु राजेन्द्र महतो, विनोद महरा, चन्देश्वर सादा, रामचन्द्र दास, बिनोद साह सहितकाले स्व. दासलाई स्मरण गर्दै जनवादी सिद्वान्तवाट बिचलित नभएकै कारण अवसरवादको भिडमा स्व. दास हराएको बताए । २०२५ सालमा जन्मेका दासको हृदयको उपचारको क्रममा काठमाण्डौं स्थित शहिद गंगालाल अस्पतालमा सात दिन अगाडि निधन भएको थियो ।
स्व. दासको परिवारले उनको ईच्छा अनुसार परम्परागत र धार्मिक रुपमा नभई जनवादी वामपन्थी प्रक्रिया अनुसार दाह संस्कार र अन्तिम संस्कार गरिदिएका छन् । स्व. दासकी धर्म पत्नी तथा उनको पार्टीकी धनुषा संयोजक हिरा दास र उनका छोराहरु समेत आफनो अभिभावकले देखाएको बाटो नछोडने भन्दै धार्मिक र परम्परागत नभई वामपन्थी प्रक्रिया अनुसार अन्तिम कर्म गरिएको बताए । स्व. दासको धर्मपत्नी, दुई छोराहरु र एक छोरी छन् ।
सो अवसरमा स्व. दासका परिवारले उनको नाउमा स्मृती प्रतिष्ठानको स्थापना गरि एक लाख बराबरको अक्षयकोषको स्थापना गरेको जस्ले गरिव विपन्न जेहेन्दार छात्रछात्रालाई छात्रवृती प्रदान गर्नुका साथै स्व. दासको स्मृतीमा अगामि शनिवार रघुनाथपुरमा वकतृत्वकला प्रतियोेगीताको समेत आयोजना गर्न गइरहेको बताइएको छ ।
स्व. दास परिवार प्रति समवेदनाका लागि उनको गाँउमै रहेका उनको पार्टीका नेता कार्यक्रताहरुले कार्यक्रम स्थल रघुनाथपुर बजार क्षेत्रको विहानै सरसफाई पनि गरेका थिए ।