एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ३० : हिन्दुहरुको महान पर्व दिपावली तथा छठको अवसरमा सरसफाईमा ध्यान दिन आग्रह सहितको घर दैलो अभियान थालिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ सहितको एक टोली जनकपुरधामको व्यापारीहरुको पसलहरुमा पुगेर जनकपुरधामको सफाईका लागि विभिन्न आग्रह गरेका छन् ।
व्यापारीहरुको दोकान पसलमा पुगेका उनीहरु पसल र घरका फोहरहरु उपमहानगरको फोहर संकलन गर्ने सवारी साधन नआउन्जेल सम्मका लागि घर पसलमै राखिदिन आग्रह गर्न थालेका छन् । पसल पसल पुग्नुका साथै उनीहरु माइकिङ्ग समेत गर्दै सो आग्रह व्यापारीहरुलाई गरिरहेको देखिन्छ ।
सुचनालाई अटेरी गर्दै बाटोमा फोहर फाल्नेलाई कारवाही समेत गर्ने प्रक्रिया अगाडि बढाइने मेयर साहले बताए । उनले २४ घण्टा फोहर घर पसलमै राख्न आग्रह गरे । बेलुकी पनि एक पटक गाडी पठाउन उपमहानगरपालिका पहल गरिरहेको पनि उनले बताए । सो अवसरमा स्थानिय युवा क्लवका प्रतिनिधीहरु, नेपाली कांग्रेसका नेताहरुको समेत उपस्थिती थियो ।