एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २२ : जनकपुरधामका पाँचजना स्वास्थ्यकर्मीहरु भुकम्प प्रभावित जाजरकोट राहत सहित पुगेका छन् । पहाडमा विपद पर्दा मधेशले सहयोग गर्नुपर्ने भावना अनुसार करिव दश लाख बराबरको स्वास्थ्य समाग्री सहितको राहत लिएर उनीहरु भुकम्पबाट अत्ति प्रभावित स्थलमा छन् ।

राहत वितरण अभियानका संयोजक चिकित्सक दिपेन्द्र यादवले आइतवार नै आफुहरु भुकम्पबाट सबै भन्दा बढि प्रभावित पालिका नलगढ नगरपालिका पुगेर त्यहाँ स्थित जिल्ला अस्पतालमा दश लाख बराबरको राहत समाग्री हस्तान्तरण गरेको बताए । सोहि नगरपालिकाकी उपप्रमुखको निधन समेत भएको र प्रभावितहरुमा भयत्रास तथा अनेकन पिडा आफुहरुले पाएको उनले एसपी खवरलाई बताए ।

उनले आफनो टोलीमा ईएनटी सर्जन डा. शुनिल सिंह, एचए डिलेराम कमती, मुकेश सिंह ल्याव टेक्निसीयन र सतिश मण्डल फर्माशिष्ट सहितका सदस्यहरु रहेको बताए । त्यहाँ स्थित जिल्ला अस्पताल पुग्दा वरिष्ठ चिकित्सक समाजसेवी गोविन्द केसी प्रभावितमा सेवा खटेको देखेपछि आफुहरु समेत वहाँ संगै सेवामा केहि दिन बताउन प्रभावित जिल्लामै रहेको उनीहरुले बताए ।
