एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ९ :
जनकपुर जेसिजले युवाहरूका लागि ’उद्घोषण’ प्रशिक्षण सञ्चालन गरेको छ । जनकपुरधाममा शनिबार भएको मास्टर अफ सेरेमोनी अर्थात् उद्घोषण प्रशिक्षणमा
युवाहरू, विद्यार्थीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा विभिन्न दलमा आबद्ध युवा नेताहरू सहभागी भएका थिए । यस प्रकारको प्रशिक्षणले युवाहरूको नेतृत्व विकास गर्ने क्षमतामा अभिवृद्धि हुने जनकपुर जेसिजका अध्यक्ष जेसी अभिषेक चौधरीले बताए । प्रशिक्षणले युवाहरूलाई कुनै कार्यक्रम तथा समारोह सञ्चालन गर्न आवश्यक उद्घोषण कलामा सहयोग पुर्याउने उनको भनाई थियो ।
प्रशिक्षार्थीहरुलाई जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा जेसी मनिषरमण साहले प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रशिक्षक साहले उद्घोषण कलाका विविध पक्षका विषयमा सहभागीहरूलाई जानकारी दिए ।
जनकपुर जेसिजले पछिल्लो केही महिनादेखि युवाहरूको नेतृत्व क्षमता विकासका लागि विभिन्न किसिमका तालिमको आयोजन गर्दै आएको छ । यसअघि, जेसिजले ’वी लिड’, ’इफेक्टिभ पब्लिक एसपिकिङ्ग’ जस्ता तालिम सञ्चालन गरेको थियो ।